पार्टीभित्र विवादबीच एमालेले आज नेसनल भोलन्टियर्स फोर्स घोषणा गदैं

सफल खबर संवाददाता

शुक्रबार, ०५ मंसिर २०८२, ०८ : ४१
पार्टीभित्र विवादबीच एमालेले आज नेसनल भोलन्टियर्स फोर्स घोषणा गदैं

काठमाडौं । पार्टीभित्रै चर्काे विवादका बीच आज नेकपा एमालेले नेसनल भोलेन्टियर्स फोर्सको घोषणा गदैछ । पार्टी अध्यक्ष केपी ओलीको निर्देशन, महेश बस्नेतको योजनामा एमालेले त्यस्तो फोर्सको घोषणा गर्न लागेको हो । 

एमाले र एमालेका नेताहरु चौतर्फी घेराबन्दी र असुरक्षामा रहेको र त्यससँग जुध्न र एमालेमाथीको आक्रमणको प्रतिवाद गर्न एमालेले त्यस्तो फोर्स घोषणा गर्न लागेको हो । तर यस्तो फोर्स गठन गर्दा त्यसले मुलुकलाई झन् द्दन्द्द र मुठभेडतिर लैजाने भन्दै एमालेमै यस्तो फोर्स गठनको विपक्षमा जनमत छ । 

ओली आफनो योजनामा टसमस नभएको एक पदाधिकारीले बताए । ओली त्यस्तो फोर्स बनाईछोडने मनोविज्ञानमा रहेपछि केही पदाधिकारीहरु भने यो विषयमा मौन बसेका थिए । 

पार्टी सचिवालय बैठकमै संस्थापन पक्षकै कतिपय नेताहरुले समेत एमालेले बनाउन खोजेको नेसनल भोलेन्टियर्स फोर्सको विरोधमा आजाव उठाएका छन् । बिहिबार बसेको एमाले सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले समेत त्यस्तो फोर्सको आवश्यकतामाथी प्रश्न उठाएका छन् । 

पार्टीको जनपरिचालन लगायतका काम गर्न जनवर्गीय संगठनहरु रहेका बेला थप नयाँ फौजी सोच र मनोविज्ञानका साथ नेसनल भोलेन्टियर्स फोर्स बनाउने कामले मुलुकलाई थप मुठभेडतिर लैजाने र यसले कालान्तरमा एमालेलाई नै घाटालाग्ने एमालेका कतिपय नेताहरुको भनाई छ । 

सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले पार्टी विधानविपरीत शुक्रबार नेसनल भोलन्टियर्स फोर्स बनाउन लागेकोमा विरोध गर्दै गम्भीर आपत्ति जनाए । उनले पार्टी विधानले राष्ट्रिय विपत् र अन्य वेला केवल स्वयंसेवी संगठन मात्र बनाउने अनुमति दिएको तर, त्यस विपरित लडाकु चरित्रको संगठन निर्माणले पार्टीलाई बदनाम गराउने बताएका थिए ।  ‘हामी कुन विधि, पद्धति र नीतिमा टेकेर यो संरचना बनाउँदैछौं। हाम्रो कार्यदिशासँग मेल नखाने संरचना किन चाहियो हामीलाईरु यसको तात्पर्य के हो ?’ पौडेलले सचिवालय बैठकमा प्रश्न उठाएका थिए । 

पौडेलमात्र होइन, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिवहरु योगेश भटटराई, गोकर्ण विष्ट लगायत नेताहरुले यस्तो फोर्स अहिले पार्टीलाई आवश्यक नरहेको बताएका थिए । 

एमालेकै कतिपय नेताहरुले अध्यक्ष केपी ओलीले आफु असुरक्षित महसुस गरेर त्यस्तो फोर्स गठनको तयारी गरेको आरोप समेत लगाउन थालेका छन् । विगतमा माओवादीले लडाकु संगठन बनाएकोमा फरक मत राखेको एमालेले अहिले त्यस्तै खालको फौजी लडाकु स्वरुपमा फोर्स गठन गर्ने कुरा एमालेको विधान विपरित रहेको नेताहरुको भनाई थियो । 

तर ओली आफनो योजनामा टसमस नभएको एक पदाधिकारीले बताए । ओली त्यस्तो फोर्स बनाईछोडने मनोविज्ञानमा रहेपछि केही पदाधिकारीहरु भने यो विषयमा मौन बसेका थिए । 

एमालेले आज काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा एक कार्यक्रमको आयोजना गरी त्यस्तो फोर्स गठनको घोषणा गर्न लागेको छ । बबरमहलमा भेला भएर माइतीघर हुँदै बबरमहल र त्यहाँबाट बानेश्वर जाने कार्यक्रम रहेको एमालेले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली हुनेछन् । 

एमालेले कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई जानकारी गराइसकेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कार्यक्रमका लागि निवेदन आएको भएपनि त्यसबारे विचाराधीन नै रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस