अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस

‘मह काढ्नेले हात चाट्छ’ भन्दै भ्रष्टाचारीलाई सघाइरहेका छौँ

सफल खबर संवाददाता

आइतबार, २३ मंसिर २०७५, ११ : ०४
‘मह काढ्नेले हात चाट्छ’ भन्दै भ्रष्टाचारीलाई सघाइरहेका छौँ

चितवन । नारायणगढ मेनरोड निवासी भीमबहादुर श्रेष्ठको जीवन यतिबेला भ्रष्टचारविरुद्ध अभियानमा होमिएको छ । नेपालमा पञ्चायतदेखि लोकतन्त्रको उदयसम्म श्रेष्ठको जीवन राजनीतिमा बित्यो । राजनीतिबाट विश्राम लिइसकेका श्रेष्ठ देशमा सुशासनको लागि यतिबेला निरञ्न्तर लडिरहेका छन् । 
बुबा नन्दलाल र आमा चनमायाबाट १९९५ मा तनहुँमा जन्मिएका श्रेष्ठ २०१५ सालबाट नेपालको राजनीतिमा लागेका थिए । विसं २०२० सालमा चितवन झरेका श्रेष्ठ २०२३ देखि २०३५ सालसम्म जिल्ला पञ्चायत सभापति भए ।
०४२ सालको चुनावमा चितवनमा तीन बाम विचारधाराबीच प्रतिस्पर्धा भयो । जेपी भेटवाल, अमिक शेरचन र भीमबहादुर चुनावी मैदानमा उत्रिए विष्णुबहादुर मानन्धर समूहका भीमबहादुरले दुई प्रतिस्पर्धीलाई हराए । उनीहरु नेकपा माले र मोर्चाबाट चुनावी मैदानमा थिए ।
पञ्चायतकालमै ९ महिना र ३ महिना गरी २ पटक र ०४६ सालमा १ महिना जेल परेका श्रेष्ठ ०६३ को आन्दोलनमा पनि जेल गए । राजनीतिक चेतना भएपछिको झण्डै ४० वर्षसम्म कम्युनिष्ट राजनीतिमा सक्रिय भएका श्रेष्ठ ०५२ सालमा काँग्रेस पार्टीमा प्रवेश गरेका थिए ।
उनी २०५३ मा राष्ट्रियसभा सदस्य बनेका श्रेष्ठ चितवन क्षेत्र नम्बर ३ बाट संविधान सभाको पहिलो चुनावमा प्रत्यक्षतर्फको उम्मेदवार बनेर पराजित भए । 
हाल राजनीतिबाट विश्राम लिएका श्रेष्ठ भ्रष्टाचारविरुद्ध अभियान चितवनको अध्यक्ष भएर भ्रष्टाचारमुक्त अभियानमा सक्रिय भएर लागिरहेका छन् । आज अन्तर्राष्ट्रिय भ्रष्टचारविरुद्ध दिवसको अवसरमा उनै भीमबहादुर श्रेष्ठसँग नेपालको भ्रष्टचारको अवस्थाको बारेमा सफल खबरका पत्रकार बाबु कृषभबाट गरिएका कुराकानी :

भ्रष्टाचारविरुद्ध अभियान चितवनले हाल केके काम गरिरहेको छ ?
भ्रष्टाचारविरुद्ध अभियान चितवनको जन्म २०६५ सालमा भएको हो । पहिला यसको नाम ट्रान्सप्यारेन्सी इन्टरनेशनल भरतपुर शाखा थियो । यसले भ्रष्टाविरुद्ध जनचेतना फैलाउने काम गरिरहेको छ । भरतपुर महानगरको १३ वटा वडामा यसको सञ्जाल छ । झन्डै २०० सदस्यहरु यसका सदस्यहरु छन् । चितवनका सबै स्थानीय तहमा यसको सञ्जाल विस्तार गर्ने काम भइरहेको छ । 
यसले भष्टाचारको न्यूनीकरण गर्न काम गरिरहेको छ । कसैले भ्रष्टाचार गरेको ज्ञान भए पनि व्यक्तिगतविरुद्ध उजुरबाजुर गर्ने संस्था होइन । भ्रष्टाचार गरेबापत् कसैलाई पक्राउ गर्ने, अख्तियारलाई बोलाउने संस्था पनि यो होइन । जुन संस्थामा भ्रष्टाचार बढेको छ, त्यो संस्थामा भ्रष्टाचार बढेको छ है भनेर सम्बन्धित निकायलाई जानकारी दिने काम यो संस्थाले गर्छ, अहिले त्यो काम हामीले गरिरहेका छौँ । 

रकम कुम्ल्याउने मात्र भ्रष्टाचार होइन भनिन्छ,  यो भित्र केके पर्छन् ?
हाम्रो समाजमा कुनै काम गरेबापत् रकम लिने कामलाई मात्र भ्रष्टाचार भन्ने बुझाइ छ । यो मात्र भ्रष्टाचार होइन, सरकारी कार्यालयमा हुने ढिलासुस्ती, आनाकानी पनि भ्रष्टाचार हो । कुनै सरकारी कार्यालयमा नियतवस् फाइल अगाडि बढाइएन भने पनि भ्रष्टाचार हो । कुनै कार्यालयमा जागिरको लागि आफ्नो मान्छे घुसाइयो भने त्यो पनि भ्रष्टाचार हो । 
ढिलासुस्ती, नातावाद, कृपावाद, पक्षपात यो सबै भ्रष्टाचारको परिभाषाभित्र पर्छन् । खाली पैसा खानुमात्र भ्रष्टाचार होइन, जस्तो कि कुनै विकास निर्माणमा जति लागत लाक्छ, त्यो भन्दा बढी वा घटी स्टीमेन्ट गरियो भने त्यो पनि भ्रष्टाचारभित्र पर्छ । 
कार्यालयमा कर्मचारी समयमै नजानु वा छिटो निस्कनु त्यो पनि भ्रष्टाचार हो । व्यवसायीले नुन होस् वा सुन होस् जुनसकै वस्तुको विक्री गर्दा २० प्रतिशतभन्दा बढी नाफा राख्यो भने त्यो पनि भ्रष्टाचारभित्र पर्छन् । निजी विद्यालयले चर्को शुल्क लिनु, शिक्षकले अध्यापनमा गतिलो नपढाउनु पनि भ्रष्टाचार हो । 

भ्रष्टाचारको घेरा त निकै फराकिलो रहेछ, जो पनि भ्रष्टाचारको भूमरीमा पर्ने अवस्था देखियो नि ?
हो, ठीक भन्नुभयो । यसको घेरा त निकै फराकिलो छ । मानौ, म चितवनमा हाकिम भएर आएँ, यहाँ भ्रष्टाचार गरेर पैसा कमाएँ । अब मैले आफनो छोरो देशकै महँगो स्कुलमा पढाएँ । जहाँ आवश्यकभन्दा बढी शुल्क लिइएको छ, यता हाकिम भएर भ्रष्टाचार गरेको पैसा उता छोरा पढाउँदा अर्को भ्रष्टाचारीलाई बुझाउन बाध्य भइन्छ । त्यसैले यो ऊ कुरै छैन, जो पनि भ्रष्टाचारको शिकार भइरहेका छन् । 
हामी पसल जान्छौँ, एक रुपैयाँ कुनै व्यवसायीले हामीलाई ठग्यो भने त्यहाँ पनि भ्रष्टाचारको भूमरीमा परियो । सरकारी कार्यालय जान्छौँ, समयमै काम भएन त्यहाँ पनि भ्रष्टाचारको भूमरीमा परियो । हाम्रोजस्तो भ्रष्टाचारयुक्त संस्कारमा भ्रष्टाचारको भूमरीमा नपर्ने मान्छे सायदै होलान् । 

भनेपछि समाजमा भ्रष्टाचार त व्यापक रहेछ नि ?
हो, समाजमा भ्रष्टाचार व्यापक छ । हाम्रो समाजमा भ्रष्टाचारयुक्त संस्कार बढिरहेको छ । सामाजिक संस्कारले नै भ्रष्टाचारलाई बढुवा दिइरहेको छ । हाम्रो समाज त यस्तो छ, जसले कमायो उही ठूलो मान्छे । उसले कसरी कमायो भन्नेतर्फ समाजले चासो दिँदैन । समाजमा ठूलो मान्छे बन्न पनि मानिसहरु भ्रष्टाचार गरिरहेका छन् । समाजमा भ्रष्टाचार यसरी मौलाएको छ, जहाँ जाऔँ, त्यहाँ भ्रष्टाचार । थाहा नपाइ मान्छेहरु भ्रष्टाचारको शिकार भइरहेका छन् । समाज भ्रष्टाचारविरुद्ध बोल्न सकिरहेको छैन, भ्रष्टाचारीलाई समाजले सामाजिक बहिष्कार गरिनुपर्छ । तिरस्कार गर्नुपर्छ । तर यहाँ ठीक उल्टो छ भ्रष्टाचारीलाई माला लगाएर सम्मान गरिन्छ, अनि भ्रष्टाचारीलाई भ्रष्टाचार गर्न झन् प्रोत्साहन मिल्छ । 

अन्य मूलकको तुलनामा नेपालमा भ्रष्टाचार अवस्था कस्तो छ ?
सिंगापुरमा एक मन्त्रीले भ्रष्टचार गरेको समाचार बाहिर आयो, उनले आत्महत्या गरे । जापानमा पनि एक उच्च तहका सरकारी कर्मचारीलाई सामान्य भ्रष्टाचारको आरोप लाग्यो, उनले पनि आत्महत्या गरेका थिए । विकसित मूलकमा ज्यादै न्यून मात्रामा भ्रष्टाचार गरेको पाइन्छ । 
विकसित मूलकमा भ्रष्टाचार गर्ने कर्मचारी सीधै वर्खास्तमा पर्छन् वा उनीहरु राजिनामा दिइहाल्छन् । विकसित मूलकमा सांसदमाथि पनि भ्रष्टाचारको आरोप लागेको छ, तर उनीहरु नैतिकताको आधारमा पनि राजीनामा दिन्छन् । तर नेपालमा भ्रष्टाचारको आरोप लागेका कुनै मन्त्री, सांसद वा कर्मचारी कसैले राजिनामा दिएका छन् ? 
यो यस्तो देश हो, भ्रष्टाचारीलाई बहिष्कार होइन, सम्मान हुन्छ । नेपालका नेता, कर्मचारीहरुले भ्रष्टाचार गरेर पैसा बैंकमा राखेको जानकारी आएको छ, तर खोजीनीति भएको छैन । सम्पत्ती शुद्धीकरण विभाग छ, तर पनि खोजीनीति गरेको छैन । 
हाम्रो देश सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा पर्छ । विश्वमा बढी भ्रष्टाचार हुने २०/२२ वटा देश छन्, त्यसमा नेपाल पनि पर्छ । 

भ्रष्टाचारलाई शून्यमा झार्न त सकिदैन, यसलाई न्यूनीकरण कसरी गर्न सकिन्छ ?
विश्वका विकसित देशमा पनि भ्रष्टाचार शून्यमा छैन । यसलाई शून्यमा झार्न सकिदैन । न्यूनीकरण गर्दै जाने हो । नियन्त्रण गर्दै लाने हो । जुन मानिसमा पनि लोभानीपापानी हुन्छ । यसलाई न्यूनीकरण गर्न सकिन्छ, तर हाम्रो देशमा भ्रष्टाचार बढिरहेको छ । 
म भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्न भन्ने दृढता राजनेताहरुमा हुन पर्छ । जनतामा म एक रुपैयाँ कसैलाई भ्रष्टाचार गर्न दिन्न भन्ने सचेतना हुनुपर्छ । लोभलालच, माया मोह, पक्षपात हुनुहुँदैन । आमजनता भ्रष्टाचारको विरोधी भावना छ, तर संगठित हुन सकेका छैनन् । कतिले त भ्रष्टाचार बुझेकै छैनन् । ‘मह काढ्नेले हात चाट्छ’ भन्दै हामी भ्रष्टाचारीलाई सघाइरहेका छौँ । कहिलेसम्म भ्रष्टाचार गर्न दिइरहने, कहिलेसम्म सघाइरहने ? अब त अति भयो, जागौँ र भनौ ‘म कसैलाई एक रुपैयाँ भ्रष्टाचार गर्न दिन्न र म आफू पनि भ्रष्टाचार गर्दिनँ ।’ 

 

प्रतिक्रिया दिनुहोस