चितवन उद्योग संघको अध्यक्षमा भेषराज दुवाडी सर्वसम्मत

शुक्रबार, २१ पुस २०७४, १३ : ५०
चितवन उद्योग संघको अध्यक्षमा भेषराज दुवाडी सर्वसम्मत

भरतपुर । चितवन उद्योग संघको अध्यक्षमा भेषराज दुवाडी सर्वसम्मत चयन भएका छन् । संघको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले संघका वरिष्ठ उपाध्यक्ष दुवाडीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । 
यसैगरी ६ जना उपाध्यक्ष, ११ जना खुल्ला सदस्य र तीन जना एसोसिएट्स सदस्य सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा त्रिलोचन कँडेल, राजु पौडेल, सूर्यप्रसाद न्यौपाने, लक्ष्मणप्रसाद अर्याल, मदन घिमिरे र प्रतिभा श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । खुल्ला सदस्यमा विष्णुप्रसाद पौडेल, नारायणप्रसाद सापकोटा, विक्रम सापकोटा, सुवास प्रधान, अर्जुनप्रसाद सापकोटा, गजेन्द्र अधिकारी, प्रमोद लामिछाने, दुर्गाप्रसाद भण्डारी, युगराज ओस्ती, मदन पोखरेल चिरञ्जीवि, राशी लामा र जितबहादुर हमाल सर्वसम्मत चयन भएका छन् । 
वस्तुगततर्फ ताराबहादुर कार्की, एसोसिएट्सतर्फ गोपालप्रसाद गैरे सर्वसम्मत चयन हुनु भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता गोपीलाल देवकोटाले जानकारी दिए । प्रिमियर एसोसिएट्समा उम्मेदवारी नपरेकोले खुल्लाबाट पदपुर्ती गरिएको छ । खुल्लातर्फ प्रकाशचन्द्र भट्टराईले उम्मेदवारी फिर्ता लिएका थिए । अब दुई जना सदस्य नयाँ कार्यसमितिले मनोनित गर्नेछ । निवर्तमान अध्यक्ष र कार्यकारी निर्देशक पदेन सदस्य रहने छन् । 
संघको २५ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष भने गर्भनिङ काउन्सिलले चयन गर्नेछ । ६ जना उपाध्यक्षमध्ये एक जनालाई एक वर्षभित्रमा वरिष्ठ उपाध्यक्षमा चयन गर्ने विधानमा उल्लेख छ । त्यसरी चयन गर्दा गर्भनिङ काउन्सीलले ६ महिनादेखि एक वर्षभित्रमा उपाध्यक्षले गरेको कार्यलाई मूल्यांकन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस