चितवनमा सयपत्री फूलको व्यवसायिक उत्पादन

सफल खबर संवाददाता

सोमबार, २७ असोज २०८२, ११ : ०४
चितवनमा सयपत्री फूलको व्यवसायिक उत्पादन

चितवन । तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग बढ्न थालेको छ । बिस्तारै माग बढ्दै जाँदा व्यावसायिक रूपमा फूल खेती गर्ने किसानहरूमा उत्साह थपिँदै गएको छ । गोरखाबाट चितवन आएर विगत पाँच वर्षदेखि सयपत्री फूल खेती गर्दै आएका बुधबहादुर गुरुङ अहिले यो पेसाबाट सन्तुष्ट छन् ।

भरतपुर महानगरपालिका-८ गौरीगञ्जमा विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा यो सयपत्री उत्पादन र बजारीकरण गर्दै आएका छन् । उनले भने “मैले पुष्प व्यवसाय गरेको १० वर्ष भयो । अहिले सयपत्री खेती गरेको पाँच वर्ष भयो । राम्रो आम्दानी दिने गरेको छु ।” गौरीगञ्जमा १८ कठ्ठा र वरपर गरी एक बिघा भन्दा बढी क्षेत्रफलमा उनले सयपत्री फूल खेती गरेका छन् । सुरुवाती वर्षमा राम्रो आम्दानी लिन नसके पनि अहिले सयपत्री फूलबाट आफू सन्तुष्ट रहेको उनले बताए । 

जग्गा भाडामा लिएर व्यावसायिक रूपमा फूल खेती गर्दा सयपत्रीबाट मात्रै मनग्य आम्दानी हुने उनको भनाइ छ । उनले भने “हरेक सिजनमा रु चार देखि पाँच लाख सम्मको आम्दानी सयपत्री फूल बेचेर गरेको छु ।” यो मौसम फूलको राम्रो व्यापार हुने सिजन हो । अन्य समयमा यही बारीमा तिल, मकै जस्ता खेती गर्दै आएको उनले सुनाए । यही व्यवसायबाट परिवार चलाउने गरेको उनले बताए । पुर्खादेखि फूल खेती गर्दै आएकाले आफूले पनि भरतपुर महानगरपालिका-७ कृष्णपुरमा नर्सरी सञ्चालन गरेर काम गर्दै आएको सुनाउँदै उनले अहिले परिवारका सदस्यबाटै काम गर्दै आएको बताए । 

जिल्लामा अहिले एक सय भन्दा बढी किसानले व्यावसायिक रूपमा सयपत्री फूल खेती गरेका छन् । उनीहरूले जिल्लाको १७ हेक्टर क्षेत्रफलमा फूल खेती गरेको कृषि विकास कार्यालय चितवनकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानले जानकारी दिइन्। उनका अनुसार विगत तीन वर्षमा सयपत्री खेती गर्ने किसान र क्षेत्रफल दुवै घटेको छ । आर्थिक वर्ष २०८०/८१ मा २२ हेक्टर क्षेत्रफलमा फूल खेती गरिएकोमा क्रमशः २० हेक्टर हुँदै १७ हेक्टरमा झरेको हो ।

उनले भनिन् “गत वर्ष फूल खेती गर्ने किसानले लगाएको बिरुवामा कुकुर फूल भएका कारण उत्पादन भएन र किसानको सङ्ख्या  घटेको हो ।” फ्लोरिकल्चर एसोसिएसन चितवनका सचिव सुलभ श्रेष्ठले यस वर्ष बाहिरी जिल्लामासमेत माला पठाउने गरी फूल खेती गरिएकोमा पानीका कारण समस्या भएको बताए । 

उनका अनुसार विगत तीन दिन परेको पानीका कारण १० बिघा क्षेत्रफलमा लगाइएको सयपत्री फूलको बिरुवा मरेको छ । उनले भने “क्षेत्रफल बढाएका थियौँ तर पानीले सोचे जस्तो भएन ।” जिल्लाका लागि आवश्यक माला पुग्ने भए पनि बाहिरी जिल्ला पठाउने माला नहुने भएको उनले बताए । जिल्लामा मात्रै तिहारमा तीन लाख बढी माला बिक्री हुने उनले बताए । तिहारका लागि आवश्यक माला बाहिरबाट खरिद गर्नु नपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस