सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

सफल खबर संवाददाता

आइतबार, १९ असोज २०८२, १० : ५२
सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

सुनसरी । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । बहाव उच्च भएपछि कोशी ब्यारेजका सबै (५६) ढोका खोलिएका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कोशीमा पानीको बहाव प्रतिसेकेन्ड तीन लाख ३५ हजार ३६० क्युसेकभन्दा बढी  भएपछि ५६ ढोका खोलिएको बताए । उनका अनुसार नदीमा निरन्तर जलमापन भइरहेको छ ।

आज बिहान सवा ८ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड तीन लाख ३५ हजार ६० क्युसेक पुगेपछि ५० ढोका खोलिएको थियो ।

उनले भने, ‘पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केतस्वरूप रातो बत्ती बालिएको छ भने रातो झण्डा फहराइएका छन् ।’ सप्तकोशी जलमापन कन्ट्रोल रुमले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको जानकारी दिएको छ ।

बाढीले उदयपुर र सुनसरीका केही क्षेत्रमा जोखिम हुने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी मिश्रले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस