आज अन्तर्राष्ट्रिय अपांगता दिवस

दृष्टिविहीन ताराको न्यायाधीश बन्ने लक्ष्य

सूर्यप्रकाश कँडेल

सोमबार, १७ मंसिर २०७५, १४ : १५
दृष्टिविहीन ताराको न्यायाधीश बन्ने लक्ष्य

भरतपुर : जन्मँदै आँखाको ज्योति गुमाएका २३ वर्षीय तारा न्यौपाने नेपाल ल क्याम्पस काठमाडौंमा कानुन विषयमा स्नातक तह (बीएएलएलबी) पढिरहेका छन् । नेपालको पहिलो दृष्टिविहीन न्यायाधीश बन्ने उनको लक्ष्य रहेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी तारा घरनजिकै रहेको कालिका एफएममा पहिले बाल कार्यक्रम चलाउँथे, अहिले अपांग आवाज चलाउँछन् । २०५३ साल असार १३ गते भरतपुरमा जन्मिएका तारा बुबा ओमप्रकाश न्यौपाने र आमा सिर्जना न्यौपानेका माहिलो सन्तान हुन् । हजुरआमा, बुबा, आमा, दिदी र भाइसँग भरतपुरमा बस्दै आएका तारा पढाईको सिलसिलामा हाल काठमाडौंमा छन् ।

नारायणी नमुना माध्यमिक विद्यालयबाट २०६९ सालमा एसएलसी उत्तीर्ण ताराले २०७२ सालमा सप्तगण्डकी बहुमुखी क्याम्पसबाट शिक्षा संकायमा १२ कक्षा उत्तीर्ण गरे । ‘सानै उमेरदेखि कानुन पढ्ने रहर भएकोले अहिले काठमाडौंमा बीएएलएलबी चौथो वर्षमा पढिरहेको छु’ उनले भने । ताराको परिवारमा अरु कोही पनि दृष्टिविहीन छैनन् । उनी जन्मँदा आँखामा फूलो परेको थियो । यसको उपचारको लागि भारतसम्म पुग्दा पनि उनले दृष्टि पाउन सकेनन् । जति गरेपनि उपचार सम्भव भएन ।

जन्मजात आँखाको ज्योति गुमाएपनि उनले अँध्यारो, उज्यालो र रंग छुट्याउन सक्छन् । ध्वनिको माध्यमबाट मोबाइल र ल्यापटपमा फेसबुक, गुगल, युट्युब चलाउँछन् । भीडभाड र बजारमा सेतो छडीको सहारामा हिँडडुल गर्ने तारालाई घर वरपर हिँड्न भने सेतो छडी चाहिँदैन । कसैले उनलाई देखेर ‘बिचरा’ भन्यो भने उनको चित्त दुख्छ । उनी भन्छन्, ‘कसैले चिरा भन्यो भने भोलि समाजमा राम्रो काम गरेर देखाउँछु भन्ने अठोट लिन्छु ।’

परिवारको साथ र सहयोगले आफूलाई पढाई र सञ्चार क्षेत्रमा अगाडि बढ्न मद्दत मिलेको उनी बताउँछन् । अपांगता भएकाहरुलाई राज्यले धेरै काम गर्न बाँकी रहेको उनी बताउँछन् । ‘अपांगता भएका व्यक्तिहरु विद्यालय जाँदा दुई तलामाथि पुग्न कठिन हुन्छ’ उनले भने, ‘सरकारी कार्यालयहरु पनि अपांगतामैत्री छैनन् ।’ अपांगता भएकाहरुलाई समान अवसर र राजनीतिक अधिकार चाहिएको उनको धारणा छ ।
 

प्रतिक्रिया दिनुहोस