काठमाडौं । अभिनयमा अब्बल मानिने कलाकारमै पर्छन् अभिनेता कामेश्वर चौरसिया । झन्डै दुई दशकअगाडि कलाकार बन्ने सपना बोकेर मधेसको पर्साबाट काठमाडौं आइपुगेका अभिनेता चौरासियाले मुख्य भूमिका प्राप्त गर्न सत्र वर्ष प्रतीक्षा गर्नुपर्यो ।
यसपालि दसैँको अवसर पारेर फूलपाती अर्थात् असोज १३ गते प्रदर्शन हुने चलचित्र ‘अभिमन्युः च्याप्टर १’ मा उनले पहिलोपटक कथालाई नेतृत्व गर्ने अवसर पाएका छन् । ‘मैले सायद यसैको प्रतीक्षा गररहेको थिएँ किनकि मैले यो समयका लागि धेरै मेहनत गरेको छु । मधेसको कथामा चलचित्र तयार भएकाले पनि निर्माण पक्षको रोजाइमा म परेँ, तर मैले यसका लागि गरेको सङ्घर्षको फल पाउने बेला हो । मैले आफूले सक्ने कोसिस गरेर पात्रलाई जीवन्त बनाएको छु’, अभिनेता चौरसियाले भने ।
बाल्यकालदेखि नै चलचित्र हेर्ने बानीले गर्दा उनी कलाकार बनेर ठूलो पर्दामा देखिने सपना बोकेर काठमाडौं आएका थिए । चौरसियाले अभाव र बेरोजगारीको सामना गर्नु पर्याे । ‘मलाई घरबाट विदेश गएर काम गर्न धेरै दबाब आएको थियो । मेरो सर्टिफिकेट लिएर वैदेशिक यात्राको प्रक्रिया अगाडि बढाउने कुरा भएको थियो, तर म नेपालमा नै केही गर्न चाहन्थे । त्यसैले मैले आफ्नो शैक्षिक प्रमाणपत्र नै फाले । त्यसपछि परिवारसँग मेरो हार्दिक सम्बन्ध हुन् सकेन’, उनले भने ।
चौरसियाले काठमाडौं मात्र नभई भारतको दिल्लीसम्म पुगेर अभिनय सिक्ने र चलचित्र काम गर्ने प्रयास गरे । उनको अभिनय यात्रा ‘एक्टर्स स्टुडियो’ बाट सुरु भयो । विसं २०७२ सालको वैशाखमा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मा ‘हरिया’ बनेपछि उनको चर्चा भयो । त्यसताका चलचित्र प्रदर्शन भएको दोस्रो दिनमा नै भूकम्प आएपछि प्रदर्शन रोकियो । बनिसकेको माहोल बिथोलियो ।
त्यसपछि पुनः चलचित्र प्रदर्शन भयो, तर उनले सोचेजस्तो चर्चा हुन सकेन, तर त्यसबाट उनको अभिनय कलाबारे धेरैले थाहा पाए । ‘त्यसपछि अन्य चलचित्रमा अभिनयका लागि प्रस्ताव आउन थाल्यो । मलाई उस्तै किसिमका भूमिका, सहायक भूमिका मात्र प्रस्ताव भए । म मुख्य अभिनेता बन्न चाहन्थे, केही फरक गर्न चाहन्थे । मैले केही चलचित्रकर्मीलाई ‘नो’ भनेपछि त्यो सबैतिर फैलियो । फलतः मैले बिस्तारै काम पाउनै छाडे’, अभिनेता चौरसियाले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असोज २०८२, ०९ : ५३
लेखकबाट थप