जेनजीको प्रदर्शन

नयाँ बानेश्वरमा जेन जेडको आन्दोलन उग्र, कर्फ्यु प्रभावहीन

सफल खबर संवाददाता

सोमबार, २३ भदौ २०८२, १४ : २१
नयाँ बानेश्वरमा जेन जेडको आन्दोलन उग्र, कर्फ्यु प्रभावहीन

काठमाडौँ । नयाँ बानेश्वरमा जेन जेड समूहको आन्दोलन झन् उग्र बनेको छ । प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएपछि अवस्था थप तनावग्रस्त बनेको हो ।

सरकारले कर्फ्यु घोषणा गरे पनि त्यसको प्रभाव देखिएको छैन । बरु कर्फ्यु लागू हुनु अघि भन्दा अहिले प्रदर्शनकारी झन् आक्रोशित हुँदै सडकमा उत्रिएका छन् । संसद भवन परिसरभित्रबाट प्रहरीले बारम्बार अश्रुग्याँस, रबरको गोली, पानीको फोहोरा र ढुंगामुढा प्रहार गरेको छ । प्रदर्शनकारीहरूले संसद भवन परिसरतर्फ आगजनी गर्ने प्रयास गरेका छन् भने भागदौडका क्रममा केही मानिस घाइते भएका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले बानेश्वर-तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लागू गरेको थियो । तर स्थिति नियन्त्रणबाहिर जाँदै गएपछि प्रशासनले कर्फ्यु क्षेत्र विस्तार गरी राष्ट्रपतिको कार्यालय शीतल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार आसपाससम्म फैलाएको हो ।

प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार दिउँसो १ बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा लागू गरिएको छ । तर निषेधाज्ञा जारी भए पनि अवस्था अझै तनावपूर्ण नै रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस