काठमाडौँ । पछिल्लो समय नेपालमा विभिन्न जातजातिका संस्कृतिमा आधारित चलचित्र बन्ने क्रम बढेको छ । लिम्बू संस्कृतिमा ‘जारी’, राई संस्कृतिमा ‘गाउँ आएको बाटो’, मगर संस्कृतिमा ‘घर ज्वाइँ’, शेर्पा संस्कृतिमा ‘कार्साङ’ लगायतका चलचित्र निर्माण भइसकेका छन् । ती चलचित्रको कथामा उल्लिखित समुदायको संस्कृति जोडेर तयार गरिएको थियो । यही क्रममा आजदेखि प्रदर्शन भएको चलचित्र ‘रिमै’मा गुरुङ समुदायको कला र संस्कृति समावेश छ ।
समयसँगै ठागु आफ्नो आर्थिक अवस्था सबल बनाउन वैदेशिक रोजगारीमा जान्छ । त्यहाँबाट बिदामा फर्किएको समयमा ठागु आफ्नो बाल्यकालको प्रेम रुपलाई श्रीमती बनाएर घर भित्र्याउन चाहन्छ । तर, रुपा गाउँमा खच्चड लिएर आउने गोविन्द ९अर्पण थापा० नामक व्यापारीसँग नजिक हुनेछ । सोल्टी ठागुसँग टाढिएकी रुपमालाई गोविन्दसँग प्रेम हो कि आकर्षण आफैँलाई थाहा छैन ।
एक दिन ठागु आफ्नो बुबालाई लिएर मामा कहाँ रुपालाई माग्न आउँछ । बाल्यकालमै धागो बाँधेर एक अर्कासँग विवाह पक्का भएकाले मामाले सहजै विवाहका लागि स्वीकारोक्ति दिएर प्रक्रिया अगाडि बढाउँछन् । ठागु गुरुङ संस्कृतिअनुसार आफ्नो सोल्टिनी रुपालाई श्रीमतीका रुपमा घर भित्र्याउन जन्ती लिएर आउँछन् । तर, सोही समयमा रुपमा गोविन्दसँग भाग्छिन् । त्यसपछि आउने उतारचढावलाई चलचित्रको विषय बनाइएको छ ।
चलचित्रको कथा अगाडि बढ्दै गर्दा गुरुङ संस्कृतिलाई पृष्ठभूमिमा देखाएइको छ । यसको मुख्य विषय पनि संस्कृतिसँग जोडिएको छ । गुरुङ समुदायमा छोरी नभई अन्तिम संस्कारको विधि अगाडि बढ्ने परम्परालाई देखाउँदै छोरीको महत्वलाई दर्शाइएको छ । त्यसो त ‘रिमै’ शब्दको अर्थ गुरुङ समुदायमा ‘छोरी–चेली’ भनेर बुझिन्छ ।
चलचित्रको प्रचार सामग्री हेर्दा ‘कबड्डी’ झैँ लागे तापनि यो पूर्ण रुपमा फरक छ । गुरुङ समुदायको फूल बाँध्ने, विवाहको प्रचलन, अन्तिम संस्कारको प्रचलनलाई चलचित्रमा विस्तारपूर्वक देखाएइको छ । नयाँ पुस्ताका गुरुङ वा गैरगुरुङलाई चलचित्रले गुरुङ समुदायको कला र संस्कृतिसँग जोडेर थोरबहुत जानकार बनाउँछ ।
चलचित्रमा अभिनेता दयाहाङ राईले ‘ठागु’ नामक पात्रको भूमिका निर्वाह गर्नुभएको छ । पछिल्लो समय प्रायः समुदायको चलचित्रमा अभिनेताका रुपमा काम गर्न पाउनुभएका अभिनेता राईले ती चलचित्रमार्फत नेपालको समुदायपिच्छेको विविधता र सौन्दर्यतालाई बुझ्ने मौका पाएको बताउनुभयो । “मैले धेरै समुदायको कथालाई पर्दामा प्रतिनिधित्व गर्ने मौका पाएको छु । यो एउटा अभिनेताका लागि गौरवको कुरा हो । मैले ती समुदायको पात्र भएर काम गर्दा उनीहरूको मौलिकता, संस्कृति, संस्कार र कला बुझ्ने मौका पाए । ती विविधता हाम्रो सौन्दर्य हुन्”, उहाँले भन्नुभयो ।
अभिनेता राईले ‘रिमै’ अहिले झट्ट हेर्दा सामान्य चलचित्र झैँ लागे तापनि यसमा देखाइएको विषय मौलिक र गम्भीर रहेको बताउनुभयो । गाउँमा रोजगारीको अवसर नरहेकोसँगै इमान्दार केटाले गर्नुपर्ने सङ्घर्षलाई समेत चलचित्रमा समेटिएको उहाँले बताउनुभयो । “भोलिको पुस्ताले गुरुङ समुदायबारे बुझ्न यो चलचित्र उपयोगी हुने मैले ठानेको छु । गुरुङ भाषामा चलचित्र बनेका छन्, तर सबैले नेपालभर बुझ्ने भाषामा यो चलचित्र तयार भएकाले महत्वपूर्ण छ । प्रवासमा बस्ने गुरुङ समुदायका अभिभावकले आफ्नो छोराछोरीलाई यो चलचित्र देखाए मात्र पनि यसले कला र संस्कृतिबारे जानकार बनाउन सक्छ”, अभिनेता राईले भन्नुभयो ।
चलचित्रकी अभिनेत्री रिश्मा गुरुङले चलचित्र हेरेपछि गुरुङ समुदायमा छोरीको महत्व झनै प्रस्टिने जानकारी दिनुभयो । आफैँ गुरुङ समुदायको भएकीले पनि नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकिरहेको संस्कृतिलाई चलचित्रले बृहत् रुपमा प्रचार गर्ने अभिनेत्री गुरुङले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “म यो चलचित्रमा काम गर्न तयार हुनुको एउटा कारण संस्कृतिलाई जोडेर तयार गरिएको कथा हो । पुर्खाले सिकाएको संस्कार र संस्कृति समेटिएको पटकथा पढेपछि यसमा काम गर्नुपर्छ भन्ने प्रेरणा मलाई प्राप्त भएको हो । मनोरञ्जन चाहनेका लागि पनि यो चलचित्र उत्तिकै राम्रो छ । यो गुरुङ समुदायले हेर्नैपर्ने चलचित्र बनेको छ ।”
उहाँले चलचित्रमा ‘रुपा’को भूमिका निर्वाह गर्नुभएको छ । एउटी छोरीले जीवनमा गर्नुपर्ने सङ्घर्ष र परम्परागत चलनले पार्ने अप्ठ्यारालाई पनि चलचित्रमा देखाइएको उहाँले बताउनुभयो । झन्डै आठ वर्षको अन्तरालमा उहाँले यो चलचित्रमा अभिनय गर्नुभएको हो । चलचित्रमा अर्पण थापा, गौमाया गुरुङ, कविता आलेमगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिबी गुरुङ, टेक गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् ।
खिलबहादुर गुरुङले निर्देशन गर्नुभएको चलचित्रमा काम गरेपछि आफूले पनि गुरुङ समुदायको संस्कृतिलाई नजिकबाट बुझेको अभिनेता पुस्कर गुरुङले बताउनुभयो । “म ब्राह्मण, क्षेत्री समुदायको बाहुल्यता भएको समाजमा हुर्किए । मलाई गुरुङ भाषा राम्रोसँग बोल्न आउँदैन र मैले संस्कृतिलाई नजिकबाट बुझ्न पनि पाएको छैन । तर, चलचित्रमा काम गर्दै गएपछि मैले गुरुङ मात्र नभई अन्य समुदायको संस्कृतिलाई पनि बुझ्ने मौका पाएको छु । यस्ता चलचित्र नेपालमा बन्नुपर्छ”, अभिनेता गुरुङले भन्नुभयो ।
विभिन्न समुदायको संस्कृति समेटेर कथा तयार गरिए तापनि त्यो मनोरञ्जनपूर्ण हुनु आवश्यक छ । विदेशी चलचित्रमा समुदायको कथा आउन थालेको धेरै भए तापनि नेपालमा भने त्यसको सङ्ख्या न्यून नै छ । लगानीकर्ताको अभावसँगै सबै दर्शकलाई हुने पटकथा तयार गर्न नसक्दा समुदायका कथा न्यून रुपमा ठूलो पर्दा अर्थात् चलचित्रमा देखिने गरेको छ । चलचित्र ‘रिमै’ का सम्पादक मित्रदेव गुरुङले चलचित्रले जुनै समुदायको कथालाई उठान गरेता पनि मनोरञ्जन आवश्यक रहेको बताउनुभयो ।
“संस्कृतिले सम्बन्धित समुदायलाई मनोरञ्जन प्रदान गर्ला तर त्योसँगै सबै समुदायलाई हुनेगरी पटकथा तयार गर्न सके मात्र त्यो चलचित्र सफल मानिन्छ । म आफैँ गुरुङ समुदायको भएकाले पनि हामीले तयार गरेको चलचित्र ‘रिमै’ हाम्रै संस्कृतिमा भए तापनि मनोरञ्जक हुनुपर्छ भनेर तयार गरेका हौँ । यो चलचित्रले गुरुङ समुदायमा जन्म भएदेखि मृत्य भएर अन्तिम संस्कार हुँदासम्मको संस्कारलाई देखाएको छ । त्यसकारण पनि सम्पूर्ण समुदायका लागि महत्वपूर्ण चलचित्र बनेको छ, जस्तो हामीलाई लागेको छ”, सम्पादक गुरुङले भन्नुभयो ।
मौलिक विषय र समुदायको कथाको आगमन भएसँगै नेपाली चलचित्र विदेशीबाट प्रभावित भएको भन्ने आरोप कम हुने गरेको छ । कथासँगै गीतसङ्गीत, वेशभूषा, लवजमा समेत मौलिकता देखिन थालेको छ । नेपाली चलचित्रमा ग्रामीण भेगको सौन्दर्य र गाउँले जीवनको खुसीलाई देखाइनु नयाँ पुस्ताका लागि नवीनतम अनुभव पनि हुनसक्छ । गुरुङ समुदायकै कथामा आधारित रहेर तयार गरिएता पनि ‘रिमै’ ले संस्कृति बुझाउँदै आम दर्शकलाई पनि मनोरञ्जन दिन्छ । चलचित्र भदौ २० देखि नेपालसहित अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका देशमा समेत प्रदर्शन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ भदौ २०८२, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चलचित्र ‘रिमै’ आजबाट प्रदर्शनमा