जनकपुरधाम । आज मिथिलाञ्चलमा अनन्त पूजा धूमधामका साथ मनाइँदैछ । भाद्र शुक्ल चतुर्दशीमा अनन्त पूजा गरिन्छ ।
यस दिन बिहानैदेखि मानिसहरूले घरआँगन सफा–सुग्घर बनाई पूजाका तयारी गर्छन् । यस अवसरमा काँक्रो, केरा, पान, सुपारी, खीर, पुरी, मालपुवा, हलुवा र विभिन्न मिठाई प्रसाद स्वरूप चढाएर छिमेकी तथा आफन्तलाई बाँड्ने चलन छ ।
मिथिलाञ्चलका महत्त्वपूर्ण पर्वमध्ये अनन्त चतुर्दशी पनि एक हो । यस दिन बिहानै विभिन्न फलफूलसँगै अनन्त सूत्र राखिएको डोला लिएर नजिकैको मन्दिरमा गई पूजा गर्ने र धागो ग्रहण गर्ने परम्परा छ ।
जनकपुरधाम–२२ की जिब्छी देवीले भनिन्, ‘हामी यो पूजा परिवारको सुख–शान्ति र समृद्धिको लागि गर्छौं । अनन्त भगवानले बच्चाहरूलाई दीर्घायु र घरमा सुख–शान्ति प्रदान गर्नुहुन्छ ।'
यस दिन स्नान गरी फूल चढाएर कथा वाचनसँगै अनन्त सूत्र बाँध्ने चलन छ । पुरुषहरूले दाहिने र महिलाले देब्रे पाखुरामा बाँध्ने यस सूत्रलाई एक वर्षसम्म राखिन्छ । गत वर्ष बाँधिएको सूत्र यसै दिन पूजापछि बिसर्जन गर्ने परम्परा छ ।
बनौली–७ की शान्ति मिश्रका अनुसार अनन्त पूजा गरिसकेपछि जाडो मौसम सुरु भएको मानिन्छ । परिवारका सबै सदस्यले अनन्त सूत्र बाँध्दा घरमा भगवानको कृपा र सुखशान्ति आउँछ भन्ने जनविश्वास छ रहेको उनको भनाइ छ ।
जयोतिषाचार्य डा. नवीनकुमार झाका अनुसार महाभारतकालमा वनवासमा रहेका धर्मराज युधिष्ठिरले यसै दिन अनन्त भगवानको पूजा गरेका थिए । त्यसपछि उनका दुःख हटेर पाण्डवहरूले पुनः राजगद्दी पाएको जनविश्वास रहेको झाले बताए ।
मैथिली समुदायमा अनन्त चतुर्दशी सामूहिक रूपमा मनाउने चलन छ । प्रत्येक घरमा नभई केही निश्चित घर वा पूजा स्थलमा सामूहिक रूपमा पूजा गर्ने परम्परा रहिआएको छ । पण्डित लालबाबु झाका अनुसार घरका सदस्य संख्या अनुसार भगवान विष्णुको १४ नामको प्रतीक स्वरूप १४ गाँठ भएको अनन्त डोरा (धागो) तयार पारिन्छ र प्रसादीसहित पूजा स्थलमा लैजान्छन् ।
धार्मिक किंवदन्तीअनुसार सत्ययुगमा समुद्र मन्थनको क्रममा अमृतसहित १४ रत्न प्राप्त भएको दिनदेखि नै अनन्त पूजा गर्ने चलन सुरु भएको हो । १४ रत्नको प्रतीकका रूपमा १४ गाँठ बाँधिएको अनन्त डोरा पाखुरामा बाँध्ने परम्परा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ भदौ २०८२, १० : ४३
लेखकबाट थप