चितवन । लायन्स क्लब अफ चितवन राईजले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा सबै क्लबले सहयोग पु¥याउन डिष्ट्रिक ३२५ आरका गर्भनर नवराज सापकोटाले आव्हान गर्नुरेका छन। डिष्ट्रिकले आज क्षेत्रपुरस्थित दियालो फुडल्याण्डमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले प्रतियोगिता सफल बनाउन हरतरहले सहयोग गर्न सबैलाई आव्हान गरे । असोज ३, ४ र ५ गते भरतपुरको कभर्ड हलमा प्रतियोगिता हुँदैछ ।
क्लबका अध्यक्ष, जोन चेयर पर्सन, रिजन चेयर, क्लस्टर चिफ र क्याबिनेटका पदाधिकारीहरु सहित लायन्सकर्मीहरुलाई यो लायन्सको महत्वपूर्ण कार्यक्रम भएको भन्दै सबैको तर्फबाट सहयोग आग्रह गरे । उनले भने “यो चितवन राईजले आयोजना गरेको भएपनि हामी सबै लायन्सहरुको कार्यक्रम हो, समूह दर्ता गरेर र सबै प्रकारबाट सहयोग गरौं ।” आफ्नो होम क्लबका दुई समूह तत्कालै उनले दर्ता समेत गरेका थिए ।
पुरस्कार राशी ठूलो भएकाले धेरै सहभागी हुने अपेक्षा गरिएको छ । सो अवसरमा डिष्ट्रिकका फस्ट भिडिजी प्रभाकर पण्डित, सेकेण्ड भिडिजी दीपेन्द्र खतिवडा, क्याबिनेटका सेक्रेटरी डा। गंगा सापकोटा लगायतले कार्यक्रम सफल बनाउन आग्रह गरे । उनिहरुले आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गर्न आव्हान गरे ।
आयोजक क्लबका तर्फबाट चितवन राईजका अध्यक्ष शिरिष पन्तले सहभागीहरुको प्रश्नको जवाफ दिंदै यो प्रतियोगिता जीत हार मात्र नभई लायन्स क्लव बीचको मित्रता, एकता र आपसी भाइचाराको प्रदर्शन पनि भएको बताए । उनले लायन्सहरु सामाजिकसँगै खेलकुद क्षेत्रमा पनि सक्रिय छन् भन्ने कुरा यसले प्रमाणित गर्ने बताए ।
अध्यक्ष पन्तका अनुसार प्रतियोगितामा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आर अन्तर्गतका क्लबहरु सहभागी हुन पाउने छन् । सहभागीहरुलाई यही भदौ ३१ गतेभित्र नाम दर्ता गर्न उनले आव्हान समेत गरे । एउटा जोडी दर्ता गर्न पाँच हजार रुपैयाँ शुल्क लाग्ने बताउँदै उनले एउटै क्लबबाट एकभन्दा बढी समूह सहभागी हुन पाउने जानकारी दिए । उनले भने “समूह जति पनि हुन सक्छ, तर प्रत्येक समूहले शुल्क तिर्नु पर्छ ।”
प्रतियोगितामा सहभागी हुन डिष्ट्रिक ३२५ आरभित्रका क्लब र क्लबको सदस्य अनिवार्य हुनु पर्ने व्यवस्था गरिएको छ । उनका अनुसार दर्ता गर्दा नै क्लबको नाम, क्लब नम्बर प्रतियोगि खेलाडीको नाम र सदस्यता नम्बर समावेश गर्नु पर्दछ । तोकिएको मापदण्डभन्दा बाहिरको खेलाडी पाईएमा प्रतियोगितामा समावेश नगरिने उहाँले बताउनुभयो । अध्यक्ष पन्तले भन्नुभयो “नियम बाहिरको खेलाडी भएमा प्रतियोगितामा सहभागी गराईदैन, तर दर्ता शुल्क पनि फिर्ता हुँदैन ।”
प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार र चौथो हुनेलाई १५ हजार रुपैयाँ नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक नेपोभिट टायल रहेको छ । यो टायल नेपालको पहिलो टायल उद्योग हो । स्वदेशी लगानी, स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर नेपालमा नै उत्पादन हुने यसले सबै प्रकारका टायल उत्पादन गर्दै आएको छ । आयात प्रतिस्थापन गर्दै देशलाई टायलमा आत्मनिर्भर बनाउने कम्पनीको उद्देश्य रहेको कम्पनीका अध्यक्ष मनोज प्रसाद रौनियारले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ भदौ २०८२, १० : ५४
लेखकबाट थप