काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा विधान महाधिवेशनमा सहभागी हुने काठमाडौंका प्रतिनिधिलाई प्रशिक्षण दिए । एमाले नेता रामेश्वर फूयाँलले संयोजन गरेको उक्त कार्यक्रममा ओलीले पार्टीभित्रका असन्तुष्ट नेतामाथि कठोर प्रहार गरे । भाषणभरि उनले दुई व्यक्तिलाई विशेष गरी निशाना बनाए- पूर्वराष्ट्रपति विद्या भण्डारी र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल ।
ओलीको बोलीमा तीक्ष्णता मात्र थिएन, पार्टीभित्र आफ्नो नेतृत्वलाई एक मात्र विकल्पका रूपमा स्थापित गर्ने चाहना पनि झल्किएको थियो । एमालेले भदौं २० देखि २२ सम्म ललितपुरको गोदावरीमा पार्टीको विधान महाधिवेशन गदैछ । पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता नविकरण रोकेर आफनो विकल्पलाई पहिलेनै रोक लगाएका ओलीले विद्या भण्डारी आफ्नै सोचले भन्दा अन्यत्रको उक्सावटले पार्टीभित्र भाँडभैलो मच्चाउन लागिपरेको आरोप लगाए । भण्डारी पार्टी नेतृत्व गर्न सक्षम नभएको आरोप समेत ओलीको थियो । विद्या भण्डारी पूर्वराष्ट्रपति मात्र होइनन्, एमालेले आर्दश मान्दै आएका दिवंगत नेता मदन भण्डारीकी जीवनसाथीको नाताले पार्टीभित्र प्रतीकात्मक शक्ति बोकेकी व्यक्तित्व हुन् । इश्वर पोखरेल लामो समयसम्म महासचिव भएर संगठन सम्हालेका कारण पुराना कार्यकर्तामाझ प्रभाव राख्छन् । यही कारण दुवै नामलाई नेतृत्वको सम्भावित विकल्पका रूपमा हेर्नेहरू पार्टीभित्र छन् । तर ओलीले दुवैमाथी बालुवाटारमा पार्टी कार्यकर्ता बोलाएर आक्रमण गरे ।
भाषणमा ओलीले विद्या भण्डारीमाथि निकै कटाक्ष गरेको एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले ओलीले बोलेका शब्दहरुको बुँदागत टिपोट लेखेका छन् । ओलीले स्पष्ट शब्दमा भने, “पूर्वराष्ट्रपतिको फोटो राखेर धन्दा गर्ने प्रवृत्ति सुरु भएको छ । पार्टीमा सदस्यता नै छैन, प्रक्रिया नबढाएको व्यक्तिले अध्यक्ष बन्ने कुरा आउँदैन ।” उनले भण्डारीलाई लक्षित गर्दै अझ थपे, “नेकपा एमालेमा आएर अध्यक्ष बन्न सकिँदैन । चुनाव भयो भने हार्नुहुन्छ । लालगेडी भएर पार्टी चल्दैन, त्यसैले विद्याजीको सम्भावना छैन ।” ओलीले प्रशिक्षणमा विद्या भण्डारीसँगको आफ्नै संवाद पनि सुनाए। “विद्याजीलाई मैले बालुवाटार बोलाएको थिएँ, आउनुभएन। पछि पार्टी कार्यालयमा भेट हुँदा उहाँले भन्नुभयो, ‘तपाईं सक्नुहुन्न, मलाई सहयोग गर्नुस्।’ मैले भनेँ - ‘पार्टी चलाउने भ्रम नपाल्नुस्, तपाईंलाई अनुभव छैन।’ ओलीको भनाई उदधृत गदै काठमाडौं जिल्ल अध्यक्ष निरौलाले भने । ओलीले थप भने, “मदन भण्डारीको सेन्टीमेन्टले अब काम गर्दैन। प्रोटोकल हेरेर प्रतिष्ठा बनाउन सकिँदैन। जबज परिवारको सम्पत्ति होइन, फाउन्डेशनले यो बचाउन सक्दैन।” ओलीले आफूले भण्डारीलाई अत्यधिक सम्मान गरेको दाबी गरे तर अहिले उनलाई उचालेर आफूलाई अपमानित गरिएको आरोप लगाए । उनले चेतावनी दिंदै भने, “विद्याजीलाई नउचालौं, उहाँको सम्मानका लागि पनि।” यससँगै उनले “विद्या भण्डारी सम्पत्ति होइन, आन्दोलन बचाउनुपर्छ । उहाँको लडाइँ सदस्यताको होइन” भन्दै भण्डारीलाई राजनीतिको मुख्यधारबाट अलगै देखाउने प्रयास गरे । सदस्यता विवादको प्रसंगमा उनले “च्यासलले सदस्यता खायो भनिन्छ, तर त्यस्तो होइन, प्रक्रिया नमिलेको हो” भन्दै भण्डारीको आलोचना गरे । साथै, उनले पत्रकारले विद्या भण्डारीलाई सदस्यता दिने नभएको भन्दै अप्रत्यक्ष रूपमा विद्या भण्डारीले संस्थागत प्रक्रियाभन्दा बाहिर काम गरिरहेको आरेप लगाए । भाषणमा ओलीले आफ्ना उपलब्धिहरूलाई पनि जोड दिए । उनले भने, “२०५४ सालमा बामदेव गौतमले पार्टी नफुटाउनु भएको भए दुई तिहाइ ल्याइसक्ने अवस्था थियो।”
उनले ‘जबज’ (जनताको बहुदलीय जनवाद) लाई कसैको निजी सम्पत्ति नभएको भन्दै फाउन्डेशनमार्फत यसको नाममा राजनीति गर्नु गलत भएको बताए । ओली अध्यक्ष नहुँदासम्म उनले नै यही फाउन्डेसनमार्फत पार्टीका तत्कालिन सस्थापनपक्षविरुद्ध देशब्यापी अभियान चलाएका थिए । उक्त फाउन्डेसनको अध्यक्ष अहिले विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारी छिन् । ओलीले इश्वर पोखरेलप्रति पनि असन्तोष पोख्न चुकेनन् । उनले पोखरेललाई “बाटो बिराएर हिँडेको” आरोप लगाए । “ईश्वर पोखरेल कहाँ पुग्नु हुन्छ, बाटो बिराएर हिँड्नु भएन’ ओलीले भनेका छन्, ‘अभागीलाई खाने बेलामा रिस उठ्छ ।” उनले पोखरेललाई अप्रत्यक्ष रूपमा “विद्यालाई उचालेर पार्टी कमजोर पार्ने” आरोप समेत लगाए। ओलीले रवि लामिछानेदेखि राजेन्द्र लिङदेनलाई समेत सहयोग गरेको प्रसंग जोड्दै आफ्नो प्रभाव र निर्णायक भूमिका स्मरण गराए । रविलाई आफैले नेता बनाएको भन्दै ओलीले राजेन्द्र लिङदेनले झापामा अब चुनाव जित्नै नसक्ने दावी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ भदौ २०८२, ११ : २५
लेखकबाट थप