साउथ अस्ट्रेलियासँग नेपाल तीन विकेटले पराजित

सफल खबर संवाददाता

विहीबार, १२ भदौ २०८२, ११ : १३
साउथ अस्ट्रेलियासँग नेपाल तीन विकेटले पराजित

काठमाडौँ। नेपाल साउथ अस्ट्रेलियासँग पराजित भएको छ । नेपाल पहिलो अभ्यास टी-२० खेलमा साउथ अस्ट्रेलिया (एसए)सँग ३ विकेटले पराजित भएको हो । नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले अन्तिम बलमा पूरा गरेको हो । टी ब्राउनले अन्तिम बलमा चौका प्रहार गरेपछि साउथ अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको हो ।

ओपनर निक विन्टरले ३६ रन बनाए भने अर्का ओपनर तथा कप्तान म्याकेन्जी हार्भेले २७ रन बनाए । नेपालका लागि सोमपाल कामीले ३ तथा नन्दन यादवले २ विकेट लिए । रोहित पौडेलले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा  ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २७ रन तथा ओपनर आसिफ शेखले २२ रन बनाए ।

साउथ अस्ट्रेलियाका क्याम्पबेल थोमसन र ह्‍यारी मानेन्तीले २/२ विकेट लिए भने जेस माकफेडन, डार्सी ब्राउन र टम मेन्जिसले १/१ विकेट लिए । टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले मंगलबार भएको दुवै अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको छ ।

 

प्रतिक्रिया दिनुहोस