काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न सरकारले अनेक प्रपञ्च रचिरहेको आरोप लगाएको छ । मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो बताएका हुन् ।
साथै, वर्तमान सरकार अधिनायकवादतर्फ गइरहेको निष्कर्ष पार्टीले निकालेको पनि सापकोटाले बताए । ‘भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न अनेक प्रपञ्च गरिरहेका छन्,’ उनले भने ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकारका काम, कारबाहीबारे संक्षिप्त जानकारी गराउनुभएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । सरकार झनै अधिनायकवाद, तानाशाहीकरणतिर गइरहेको माओवादीको निष्कर्ष रहेको सापकोटाले बताए ।
‘अहिलेको परिस्थितिबारे अध्यक्षजीले संक्षिप्त अपेडेट गराउनु भयो । सरकार झनझन अधिनायकवाद, तानाशाहीकरणतिर जाँदै छ । राज्यका सबै संरचनामाथि तिब्र हस्तक्षेपको प्रक्रिया अघि बढिरहेको छ । यो सरकारको नालायकी, कुशासनले गर्दा जनता असाध्यै रुष्ट, आक्रोशित छन्,’ उनले भने ।
सरकारको अलोकतान्त्रिक र अधिनायकवादी चरित्रका कारण व्यवस्थामै असर परेको पनि उनले सुनाए । ‘यो सरकारको अलोकतान्त्रिक र अधिनायकवादी चरित्रले गर्दा व्यवस्थामै असर परिरहेको छ । व्यवस्था विरोधीलाई अवसर प्रदान गरेको जस्तो भइरहेको छ । यो परिस्थिति दिन प्रतिदिन जनताको हित विपरीत गइरहेको छ,’ उनले भने, ‘भ्रष्टाचारमा कुरा गर्दा अरु पार्टीलाई छानीछानी अख्तियार लगाउने, जेल हाल्ने, आफ्नालाई हर तरहले बचाउने गरिरहेको छ । जनतालाई भ्रम पार्न सरकार तल्लीन भइरहेको छ ।’
उनका अनुसार भोलि दिउँसो १ बजे पुनः बैठक बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ भदौ २०८२, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने