चितवन । नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको सम्भावनाबारे चिनियाँ टोली चितवन आएको छ । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापना गर्ने तयारी छ ।
सोही तयारीका लागि आवश्यक जानकारी लिन तथा सहजीकरण गर्न चीनबाट ७ सदस्यीय टोली आएको अस्पतालले जनाएको छ । सघन उपचार कक्ष, रेडिएसन अंकोलोजी, प्रयोगशाला, मेडिकल अंकोलोजी लगायतका विभागको अहिलेको अवस्था र यसबाट बोनम्यारो प्रत्यारोपणमा हुनसक्ने सहयोगबारे टोलीले अध्ययन गर्ने बताइएको छ ।
क्यान्सर अस्पतालमा आएर बिरामीलाई सेवा दिने १५ औँ टोलीका प्रमुख रहेका डा. चाहु क्वीमिंगको नेतृत्वमा सात जना विज्ञ टोली अस्पतालमा आएको हो । बीपी कोइराला क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा। विजय न्यौपानेले क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपणको कामलाई यथाशक्य छिटो थालनी गर्ने गरी काम अगाडि बढाउने वातावरण तयार गरिने जनाइएको छ ।
अस्पतालको मुख्य बिरामी भवनको छेउमा नै बोनम्यारो प्रत्यारोपणका लागि आधुनिक दुई तले भवन निर्माण गरिनेछ । क्यान्सर अस्पतालमा १ हजार ८३४ वर्गमिटर क्षेत्रमा बोनम्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक उपकरण जडान हुने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० साउन २०८२, १३ : १७
लेखकबाट थप