कानुन र विकास निर्माणका सवालमा पक्ष प्रतिपक्ष हुनुहुँदैन : सुनिता बराल

सफल खबर संवाददाता

विहीबार, २९ साउन २०८२, १५ : ०९
कानुन र विकास निर्माणका सवालमा पक्ष प्रतिपक्ष हुनुहुँदैन : सुनिता बराल

काठमाडौँ । एमाले सांसद सुनिता बरालले प्रतिपक्ष दलले लोकप्रियतावाद, अतिवाद, शङ्का र घृणाका विषय मात्र उत्खनन गर्ने गरेको भन्दै प्रतिपक्षको कटाक्ष गरेकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद बरालले सम्मानित सदनमा प्रधानमन्त्री र मन्त्रीले दिएका जवाफमा प्रतिप्रश्न गर्ने र हावादारी गफ दिएर जानुभयो भन्ने तहसम्मका तर्क प्रतिपक्षबाट हुँदै जाँदा गणतन्त्रको विषय कहाँ पुग्छ भन्दै प्रश्न गरेकी हुन् । 

उनले प्रतिपक्षलाई लोकप्रियताका लागि त्यस्ता कुरा नगर्न सभामुखमार्फत ध्यानाकर्षण गराइन् । बराल अघि माओवादी सांसद रेखा शर्माले प्रधानमन्त्रीलाई अपराध संहिता पढ्न सुझाव दिएकी थिइन् । 

‘आज हामी राजनीतिक दलहरू नीतिका आधारमा प्रतिस्पर्धा गर्ने ठाउँमा कहाँ छौ ? हामी सहमति निर्माण र संवादलाई राजनीतिक अभ्यासको केन्द्र बनाउनुपर्छ भन्ने कुरामा कहाँ छौ ? र राजनीतिक संस्कार विकास गर्दै राष्ट्रिय राजनीतिका विषयहरूमा एकीकृत हुनुपर्छ भन्ने सन्दर्भमा कहाँ छौँ ?’, बरालको प्रश्न छ । कानुन निर्माण र विकास निर्माणका सवालमा पक्ष प्रतिपक्ष भएर मात्र समृद्ध नेपालको कल्पना पुरा हुन नसक्ने भन्दै साझा सवालमा एकीकृत हुनुपर्ने बरालको धारणा छ ।