रिमैको शीर्ष गीत सार्वजनिक, दयाहाङ सँग रिश्माको कमब्याक

सफल खबर संवाददाता

विहीबार, २९ साउन २०८२, ११ : ५७
रिमैको शीर्ष गीत सार्वजनिक, दयाहाङ सँग रिश्माको कमब्याक

चितवन । भाद्र २० गतेबाट प्रदर्शनको तयारी रहेको चलचित्र ‘रिमै’ को शीर्षगीत सार्वजनिक भएको छ। बुधबार चितवनको सिजी ल्याण्डमार्कस्थित क्युएफएक्स सिनेमामा आयोजित प्रिमियर कार्यक्रमकाबीच ‘रिमै’ को शीर्षगीत सार्वजनिक गरिएको हो ।  

सार्वजनिक चलचित्रको पहिलो गीत ‘रिमै’ मा दीपक शर्माको शब्द संगीत तथा आँशु लामा र रिता केसीको आवाज रहेको छ । नरेन्द्र योगीले एरेन्ज गरेको उक्त गीतमा दयाहाङ राई, रिश्मा गुरूङ, अर्पन थापा, गौमाया गुरूङलगायतका कलाकारहरु फिचर्ड छन् । गीतमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।

गीत सार्वजनिक भएसँगै चलचित्रको प्रचार प्रसार सुरु भएको निर्देशकखिलबहादुर गुरूङले बताए । चलचित्रले गुरूङ समुदायको कथा बोकेको उनले बताए । चलचित्रको शीर्ष गीतमा पनि गुरूङ समुदायको संस्कृतिलाई देखाईएको छ । गीत जस्तै चलचित्र पनि राम्रो बनेको नायिका रिश्मा गुरूङले बताईन् । गीत प्रिमियरमा सबैको राम्रो साथ पाएको भन्दै उनले चलचित्रले पनि यसै गरी साथ पाउने विश्वास व्यक्त गरिन् ।

'कबड्डी' सिरिजबाट चर्चामा आएकी नायिका गुरूङ लामो समयपछि 'रिमै' बाट फिल्ममा फर्किएकी हुन् । यही चलचित्रका लागि उनी अमेरिकाबाट नेपाल आएकी हुन् । यस कारण पनि यो चलचित्रलाई लिएर दर्शकहरु उत्साहित छन् ।

कार्यकारी निर्माता वीरबल घलेले कथावस्तु र प्रस्तुति चलचित्रको बलियो पक्ष भएको बताए । चलचित्रमा गुरूङ समुदायको कथालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको उनको भनाइ थियो । उपेन्द्र सुब्बाको कथा रहेको चलचित्र 'रिमै' गोरखा सिराञ्चोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालि र रोटेपिङ इन्टरटेनमेन्टले निर्माण गरेको हो।

मित्रदेव गुरूङको सेनिमाटोग्राफी रहेको चलचित्रलाई टीका गुरूङ, जीत ‘यात्री’ गुरूङ र दुनबहादुर घलेले निर्माण गरेका हुन् । यस्तै राजेश घिमिरे, रोशन भट्टराई र विनु गुरूङ चलचित्रका सह-निर्माता हुन् । दयाहाङ राई, रिश्मा गुरूङ, अर्पन थापा, गौमाया गुरूङ, बुद्धि तामाङ, माओत्से गुरूङ, लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

प्रतिक्रिया दिनुहोस