काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले श्रमिकका अधिकारहरु कटौति हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा ट्रेड युनियन महासंघहरुले आयोजना गरेको जलवायु परिवर्तनले देशमा पारेको असरबारे सामाजिक संवाद कार्यक्रममा बोल्दै उनले अहिलेको श्रम क्षेत्रमा जुरेको पहिरो आएजस्तो भएको टिप्पणी गरे ।
आफ्ना अधिकारहरु देख्न र भोग्न नपाउने जस्तो स्थिति बनेको र श्रमिकले अहिले धेरै दु:ख र पीडा पाएको उनले बताए ।‘अहिले कस्तो छ भने कहिले श्रम क्षेत्रमा जुरेको पहिरो आएको जस्तो भएको छ । हाम्रो अधिकार बढारेर लिएर गएको छ । कहिले रसुवामा आएको बाढी जस्तो छ,’ अध्यक्ष सिम्खडाले भने, ‘अधिकार भन्ने कुरा हामीले भोग्न, देख्न नपाउने स्थिति पनि छ ।’
उनले थपे, ‘सामाजिक संवादको विषय न्यायिक रुपान्तरणको सवालमा अहिले नेपालको सन्दर्भमा एउटा ठूलै उथलपुथल भयो भने त्यो सामाजिक संवाद, ऐन, कानून संविधानले दिएको अधिकार हामीले पाउने र रक्षा हुने स्थिति होला । तर आजको दिनमा एकदम पीडा र दु:खको अवस्थामा भएका अधिकार कटौति हुँदै जाने स्थिति सिर्जना भएको छ ।’
कार्यक्रममा ट्रेड युनियन कंग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनको असर नेपालमा पछिल्लो समय अत्याधिक बढिरहेको बताए । यसले श्रमिकहरुलाई सबैभन्दा बढी समस्यामा पारेको उनको भनाइ छ । वातावरणीय प्रकोपबाट सबैभन्दा ठूलो असर श्रमिक वर्गमा परेको र उनीहरु रोजगारीबाट विमुख भइरहेको बताए ।
‘वातावरणीय प्रभाव पछिल्लो समय अत्याधिक मात्रामा देखिन थालेको छ । हाम्रो कन्ट्रिब्युसन अत्यन्त न्युन छ । छँदै छैन भन्दा पनि हुन्छ । तर सबैभन्दा बढी भार बोक्नुपर्ने स्थिति बनिरहेको छ,’ उनले भने, ‘वातावरणीय प्रकोपबाट सबैभन्दा ठूलो असर श्रमिक वर्गमा परिरहेको छ । उनीहरु रोजगारीबाट विमुख भइरहेका छन् । उनीहरुले क्षतिपूर्ति पाउने स्थिति बनिरहेको छैन । फण्डहरुसँग लक्षित वर्गमा जोड्न सकेका छैनौँ ।’
कार्यक्रममा अन्य वक्ताहरुले पर्यटन र कृषि क्षेत्र समस्यामा परेको बताए । कृषि र पर्यटन क्षेत्रले नेपालको रोजगारीमा धेरै योगदान गरिरहेको उनीहरुको भनाइ छ । जलवायु परिवर्तनले श्रमिक, उद्यमशिलता, देशको अर्थतन्त्रमा ठूलो समस्या पारेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ साउन २०८२, १२ : ०६
लेखकबाट थप