गहुँ र धानको बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम

रासस

विहीबार, ०१ साउन २०८२, १२ : ३२
गहुँ र धानको बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम

चितवन । जिल्लाका एक हजार २५३ किसानले बीउ उत्पादन गरेबापत प्रोत्साहन रकम प्राप्त गरेका छन् । कृषि विकास कार्यालय चितवनले जिल्लाका ९ कृषक फर्ममा आबद्ध ती किसानहरूलाई बीउ उत्पादन गरेबापत रु १ करोड ४७ लाख ८० हजार ३५० वितरण गरेको हो ।

कार्यालयका कृषि अधिकृत उमराज अर्यालका अनुसार किसानहरूले रु. १ हजार १ सय देखि रु. १ लाख ४३ हजार सम्म प्रोत्साहन रकम पाएका छन् । उनीहरूलाई उत्पादन र क्षेत्रफलका आधारमा प्रोत्साहन रकम वितरण गरिएको हो । उनले भने “स्रोत बीउमा प्रति हेक्टर रु. २० हजार र उन्नत बीउमा प्रति हेक्टर रु. १५ हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको हो ।” गहुँ र धानको उत्पादनमा किसानहरूले प्रोत्साहन रकम पाएका हुन ।

कतिपय किसानहरूको भने जग्गा धनी पुर्जा तथा कागजात नमिलेका कारण प्रोत्साहन रकम पाउनबाट वञ्चित भएको उनले बताए । उनका अनुसार ९६१ दशमलव ८३ हेक्टर क्षेत्रफलमा बीउ उत्पादन गर्ने ती किसानले प्रोत्साहन रकम प्राप्त गरेका हुन ।

कृषि विकास कार्यालय चितवनले ‘बीउ बिजन आत्मनिर्भर कार्यक्रम’ अन्तर्गत भरतपुर महानगरपालिका र माडी नगरपालिकाका बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण गरिएको हो । कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले असारको अन्त्यमा प्रदान गरिएको रकम किसानका लागि खेतीयोग्य समयमा राहत बन्ने बताए ।

आगामी दिनमा थप किसान लक्षित कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ । किसानहरूलाई जग्गासम्बन्धी कागजात व्यवस्थित गर्न समेत उनले आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस