अबको पाँच वर्षमा ५ हजार ८९० मेगावाट विद्युत् उत्पादन हुने

विहीबार, २० पुस २०७४, १२ : १८
अबको पाँच वर्षमा ५ हजार ८९० मेगावाट विद्युत् उत्पादन हुने

चितवन । तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले सुरु गरेको सकारात्मक पहलका कारण आगामी पाँच वर्षभित्र नेपालको कुल विद्युत् उत्पादन ५ हजार ८९० मेगावाट पुग्ने देखिएको छ ।

ऊर्जा संकटकालीन कार्ययोजना र मन्त्री शर्माको ३७ बुँदे कार्यक्रमका आधारमा अगाडि बढेको योजना मूर्त रुप लिदै विद्युत् उत्पादन क्षमतामा गुणात्मक फड्को हान्ने अवस्थामा पुग्ने नीति निर्माताहरुको भनाइ छ ।

नेपालको आफ्नै विद्युत उत्पादन पाँच हजार ८९० मेगावाट पुग्ने र विद्युत्मा आत्मनिर्भर बन्ने अवस्थाको सुरुवात आगामी वर्षाकालबाटै सुरु हुनेछ । विद्युत् उत्पादनमा आत्मनिर्भर बन्ने सरकारको महत्वाकाक्षी लक्ष्य पूरा गर्न उक्त परिणामको विद्युत उत्पादनले सहयोग पुग्ने बताइएको छ ।

ऊर्जा मन्त्रालयले गरेको प्रक्षेपणअनुसार आगामी चारदेखि पाँच वर्षसम्म नेपालको विद्युत उत्पादनमा स्वर्ण युगको प्रारम्भ हुनेछ ।

ऊर्जा मन्त्रालयकाअनुसार स्वदेशी आयोजनाबाट ०७९ सालसम्ममा पाँच हजार ८९० मेगावाट विद्युत उत्पादन हुनेछ । त्यतिबेला विद्युतको माग चार हजार ५२५ मेगावाट मात्रै हुनेछ ।

निजी क्षेत्रले निर्माण गरिरहेको ३ हजार ५०० मेगावाट क्षमताका आयोजना आगामी चार वर्षभत्र पूरा हुनेछ । निजी क्षेत्रले उत्पादन गर्ने उक्त परिणामको विद्युत् वर्षाकालमा पूर्ण क्षमतामा उत्पादन हुने र हिउँदमा १ हजार ५०० मेगावाटको हाराहारीमा मात्रै उत्पादन हुनेछ ।

आगामी वर्षको मंसिर मसान्तपछि चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गर्नेछ ।  यस्तै चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको ४८ मेगावाटको साञ्जेन, १११ मेगावाटको रसुवागढी, १०१ मेगावाटको मध्य भोटेकोशीको समेत निर्माण सम्पन्न हुनेछ ।

तामाकोशीले विद्युत् उत्पादन सुरु गरेपछि वर्षायाममा नेपालको विद्युत् खेर जाने अवस्थामा पुग्नेछ । भारतबाट विद्युत् आयात बन्द हुनेछ ।

केही समयभित्रै ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न हुनेछ । यस्तै १४ मेगावाटको कुलेखानी तेस्रो पनि सम्पन्न हुनेछ । प्राधिकरणको लगानीमा निर्माण भइरहेको ६० मेगावाटको त्रिशुली थ्री ए ले पनि अबको डेढ वर्षमा विद्युत् उत्पादन थाल्नेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सकारात्मक पहलका कारण नेपाल विद्युत् उत्पादनमा क्रमशः आत्मनिर्भरको बाटोमा लागेको जानकारी दिए । उनले सो अवधिमा अरु केही साना तथा मझौला आयोजना समेत सम्पन्न भएर कुल उत्पादन ६ हजार मेगावाटको हाराहारीमा पुग्नेछ ।  हाल देशभर नै विद्युत् माग एक हजार ४०० मेगावाटको हाराहारीमा रहेको छ । तर आपूर्ति भने करिब एक हजार मेगावाट मात्रै रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस