सभापति निरङ्कुश बने : काङ्ग्रेस नेता केसी

शनिबार, ०८ मंसिर २०७५, १३ : १९
सभापति निरङ्कुश बने : काङ्ग्रेस नेता केसी

रुपन्देही । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टी नेतृत्व प्रजातान्त्रिक ढङ्गबाट नभई निरङ्कुश ढङ्गबाट चलेको आरोप लगाउनुभएको छ । 

नेपाल प्रेस युनियन रुपन्देहीले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी संस्थामुखी नभई व्यक्तिमुखी भएको भन्दै व्यक्तिप्रधान भएर गरिएका निर्णय मान्य नहुने प्रष्ट पार्नुभयो । 

पार्टी पदाधिकारीमा सामूहिक नेतृत्वमा जानुपर्ने भन्दै उहाँले व्यक्तिमुखी हुँदा नेपाल विद्यार्थी सङ्घ पनि संस्थागत हुन नसकेको दाबी गर्नुभयो । उहाँले पार्टी संस्थागत संरचनाको नयाँ दिशामा प्रवेश गर्न लागेकाले आगामी दिनमा विधि र प्रक्रियासम्मत ढङ्गले अगाडि बढ्ने बताउनुभयो । 

नेता केसीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयनका लागि सरकार नै अनिच्छुक देखिएकाले गणतन्त्र संस्थागत हुन नसकेको धारणा राख्नुभयो ।  (रासस) 

प्रतिक्रिया दिनुहोस