नेपालद्वारा भुटानलाई ३५९ रनको लक्ष्य प्रस्तुत

सफल खबर संवाददाता

मंगलबार, १७ असार २०८२, १२ : ४४
नेपालद्वारा भुटानलाई ३५९ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । एसीसी यु-१६ इस्ट जोन कप अन्तरगत मलेसियामा जारी खेलमा नेपालले भुटानविरुद्ध ३५९ रनको विशाल स्कोर खडा गरेको छ । नेपालका लागि रौनक श्रीवास्तवले १६८ रनको शानदार इनिङ खेले ।

टस जितेर ब्याटिङ रोजेको नेपालले खराब सुरुवात गर्दै १७ रनमै दुई विकेट गुमाएको थियो । ओपनर परिमार्जन यादव पहिलो ओभरमै आउट भए भने उत्कृष्ट फर्ममा रहेका प्रसिद्ध जैसी पनि चलेनन् ।

जैसीले १४ बलमा ७ रन मात्र जोड्न सके । त्यसपछि तेस्रो विकेटका लागि श्रीवान्स बजगाईँ र रौनक श्रीवास्तवबीच बलियो साझेदारी भयो । यो जोडीले नेपाललाई १०७ रनसम्म पुर्‍याएको थियो । श्रीवान्स ५२ बलमा ५४ रन बनाएर आउट भए । त्यसपछि सुगम बुढाथोकीले रौनकलाई साथ दिए । यो जोडीले नेपालको स्कोर १८० रन सम्म पुर्‍यायो । सुगम ३५ रनमा आउट भए ।

पाँचौँ विकेटका लागि रौनकले जोय थापासँग १७० रनको म्याराथन साझेदारी गरे । नेपाललाई ३५० रनको मजबुत स्थितिमा पुर्‍याएर रौनक अन्तिम ओभरमा आउट भए । जोय थापाले अर्धशतक बनाएर अविजित रहे ।

रौनकले बनाएको १६८ रन कुनै पनि उमेर समूहको अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याटरले बनाएको उच्च व्यक्तिगत स्कोर हो । भुटानले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस