सुशासनका लागि ट्रेड युनियन सबैभन्दा ठूलो बाधक हो” : अमरेशकुमार सिंह

सफल खबर संवाददाता

आइतबार, १५ असार २०८२, १५ : २३
सुशासनका लागि ट्रेड युनियन सबैभन्दा ठूलो बाधक हो” : अमरेशकुमार  सिंह

काठमाडौँ । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ट्रेड युनियनलाई सुशासनको मार्गमा सबैभन्दा ठूलो बाधक भएको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले आजको सरकार र समग्र सुशासन प्रणालीलाई कमजोर बनाउन ट्रेड युनियनले भूमिका खेलेको आरोप लगाए। उनले राज्यको स्रोत र जनताको करबाट सञ्चालन हुने प्रशासनमा ट्रेड युनियनको हस्तक्षेप अस्वीकार्य भएको बताए।

“ट्रेड युनियन सुशासनका लागि सबैभन्दा ठूलो बाधक बनेको छ,” उनले भने, “यसबारे सबै सरोकारवाला निकाय जानकार छन्, तर कोही बोल्दैनन्। अब यो विषय गम्भीर रूपमा उठ्नुपर्छ।”

उनले निजामती सेवा विधेयक पहिल्यै पारित हुनुपर्नेमा ढिलाइ भएको भन्दै आपत्ति जनाए। “विधेयकमा धेरै राम्रो कुरा छन्, तर केही प्रावधान परिमार्जन गर्नु अत्यावश्यक छ,” सिंहले भने, “जनताको करको पैसाबाट चल्ने सेवामा ट्रेड युनियन राख्नु उपयुक्त होइन। त्यसैले अब ट्रेड युनियन खारेज गर्नुपर्ने बेला आएको छ।”