नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य

सफल खबर संवाददाता

आइतबार, १५ असार २०८२, ११ : ४१
नेपालले  इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य

काठमाडौँ  । मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको छ । ओपनिङ ब्याटर प्रसिद्ध जैसीले शतक बनाएपछि नेपालले इन्डोनेसियाविरुद्ध ४२१ रनको विशाल योगफल खडा गरेको हो ।

क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ४२० रन बनाएको छ । जैसीले ११४ बलमा १३२ रनको शानदार शतकीय पारी खेले । उनले १५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै रौनक श्रीवास्तवले ७१ बलमा ८ चौका र २ छक्का मद्दतमा ८८ रन बनाए ।

अर्का ओपनर परिमार्जन यादवले २८ बलमा ७१ रनको विस्फोटक पारी खेले जहाँ उनले ४ चौका र ८ छक्का प्रहार गरे । जोय थापाले ४१ बलमा ५७ रन बनाए । पहिलो विकेटका लागि जैसी र यादवले मिलेर १३० रनको साझेदारी गरेका थिए । त्यसपछि दोस्रो विकेट १५१ रनमा खसेको थियो भने तेस्रो विकेटका लागि जैसी र रौनकले मिलेर १४८ रनको साझेदारी गरे ।

नेपालको उमेर समूहदेखि सिनियर टोलीले ५० ओभरको कुनै प्रतियोगितामा बनाएको सर्वाधिक योगफल हो । साथै जारी प्रतियोगितामा पनि यो सबैभन्दा उच्च योगफल हो ।

प्रतिक्रिया दिनुहोस