काठमाडौं । नेपाली क्यालिस्थेनिक्स एथ्लेट सुनिल खड्काले गिनिज वर्ल्ड रेकर्ड तोड्दै ऐतिहासिक सफलता हासिल गरेका छन्। उनले एक मिनेटमा ३२ क्ल्याप पुलअप गरेर १० वर्ष पुरानो विश्व कीर्तिमान तोडेका हुन् ।
यसअघि सन् २०१५ डिसेम्बर १९ मा अमेरिकाका ब्लेक अगस्टिनले ३० क्ल्याप पुलअप गर्दै रेकर्ड बनाएका थिए। सुनिलले उक्त कीर्तिमान तोडेका हुन् । धादिङको गल्छीका २५ वर्षीय सुनिलले गत २१ जुनमा ललितपुरस्थित बज्र ननिता फिटनेसमा आधिकारिक रूपमा दिएको प्रयासमा कायम गरेका हुन्। सुनिलको रेकर्डबारे गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले आफ्नो आधिकारिक वेबसाइटमा पनि राखेको छ ।
उक्त कार्यक्रममा प्रमुख निर्णायकका रूपमा सुकदेव कार्की रहेका थिए, जो नेपाल युथ फिटनेस एण्ड क्यालिस्थेनिक्सका संस्थापक हुन् भने अन्तर्राष्ट्रिय स्तरका सर्टिफाइड स्ट्रेन्थ एन्ड कन्डिसनिङ स्पेशलिस्ट हुन् ।
रेकर्ड बनाएपछि सुनिलले नेपाललाई विश्वमा चिनाउँदा धेरै गर्व लागेको बताएका छन् । ‘नेपालको झण्डा बोकेर विश्व सामु उभिन पाउँदा आफूप्रतिको भन्दा पनि देशप्रतिको गर्व अझ बढी महसुस भयो’ उनले अनलाइनखबरसँग भने, ‘अब वर्ल्ड क्यालिस्थेनिक्स प्रतिस्पर्धामा पनि नेपालको झण्डा सर्वोच्च स्थानमा पुर्याउने लक्ष्य छ।’
उनले फिटनेस कुनै विकल्प नभएर जीवनशैली भएको बताउँदै सबैले यसलाई आफ्नो जीवनशैलीका रूपमा बुझ्न आवश्यक रहेको औंल्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ असार २०८२, १४ : ५१
लेखकबाट थप