किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा ५० शय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले जिल्ला अस्पताललाई आज हस्तान्तरण गरेको हो ।
अस्पताल निर्माणका लागि विसं २०७५ असार २२ गते स्वामीनारायण आशीर्वाद जेभि सुनसरीसँग ठेक्का सम्झौता भएको थियो । अत्याधुनिक भवन निर्माण भएसँगै सेवा प्रवाहमासमेत सहज हुने भएको छ । भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले अब नयाँ भवनबाट सेवा सञ्चालन गराउनका लागि काम सुरु हुने जानकारी दिए।
पुरानो भवनबाट नयाँ भवनमा सरेपछि जिल्ला अस्पतालमा पाइने सबै खालका सेवा पाइने प्रमुख शाक्यको भनाइ छ । अस्पताल भवन भ्याटसहित करिब रु २७ करोड २७ लाख ८० हजार सात सय २३ मा निर्माण सम्पन्न भएको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख सुमनकुमार मिश्रले बताए।
भवन हस्तान्तरण भएपछि सङ्खुवासभा अस्पतालका तीन वटा सुविधा सम्पन्न ब्लक सञ्चालनमा आएको आयोजना प्रमुख मिश्रले बताए। जिल्ला अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापि, प्रसूतिलगायतका सेवा सञ्चालनमा छन् । जिल्ला अस्पतालमा सङ्खुवासभाका १० वटा स्थानीय तहका मात्रै नभएर छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल आउने गरेका छन् ।
जिल्ला अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापि लगायतका सेवा सञ्चालनमा छन् । यसअघि समयमा जिल्ला अस्पताल भवन सम्पन्न नहुँदा २०३३ सालमा निर्माण भएको पुरानो भवनको प्यासेज र भुईँमा बिरामीको उपचार भइरहेको थियो । उक्त भवन म्याद थप गरेर हस्तान्तरण गरिएको हो । अस्पतालमा दैनिक तीन सय बढी सेवाग्राही उपचारका लागि आउँछन् ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०९ असार २०८२, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
सङ्खुवासभामा स्क्रब टाइफस परीक्षण गर्ने किट अभाव