दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्य चौकी भवन निर्माण

रासस

सोमबार, ०९ असार २०८२, १२ : ०५
दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्य चौकी भवन निर्माण

भोजपुर । दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्न यहाँको खोक्सिकमा पक्की स्वास्थ्य चौकी भवन निर्माण थालिएको छ । सहकारीको घरबाट स्वास्थ्य चौकी चलाउन असहजता भएसँगै यहाँ पक्की भवन निर्माण थालिएको हो ।

आफ्नै ठाउँमा स्वास्थ्य चौकीको पक्की भवन निर्माण गरिएपछि उत्साह बढेको स्थानीयवासी सूर्य राईले बताए । पक्की भवन बनेपछि सहज रूपमा सेवा पाउनेमा आशावादी रहेको उनको भनाइ छ । यो स्वास्थ्य चौकी नहुँदा विगतमा सामान्य सेवा लिनका लागि दुईदेखि तीन घण्टा लगाएर अन्य ठाउँमा जानुपर्ने बाध्यता रहेको उनले बताए ।

“हाम्रो ठाउँमा स्वास्थ्य चौकी नै थिएन”, उनले भने, “स्थानीय तह कार्यान्वयनमा आएपछि स्वास्थ्य चौकी स्थापना भयो । तर भवन नहुँदा हामीलाई समस्या थियो । नयाँ पक्की भवन बनेपछि उत्साह थपिएको छ ।”

रामप्रसादराई गाउँपालिका-८ खोक्सिक भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । देशमा संघीयता आएपछि यहाँ स्वास्थ्य चौकी स्थापना गरिएको छ । तर स्वास्थ्य चौकीको भवन नहुँदा सेवा प्रवाहमा समस्या रहँदै आएको थियो । वडाको पहलमा यहाँ प्रदेश सरकारबाट प्राप्त रु. २५ लाख बजेटमा चारकोठे पक्की भवन निर्माण भइरहेको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिए । भवन निर्माणको काम अन्तिम चरणमा छ । विगतमा यहाँ स्वास्थ्य चौकी नहुँदा धेरै समस्या भएकाले आफूले वडाको जिम्मेवारी लिएपछि स्वास्थ्य चौकी सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

दक्षिणी क्षेत्रमा पर्ने यो ठाउँ भोजपुर सदरमुकामबाट ५० किलोमिटर दूरीमा पर्छ । कच्ची सडक रहेकाले यहाँका नागरिकलाई सदरमुकामसम्म स्वास्थ्य सेवा लिन आउन निकै समस्या छ । यहाँ नै स्वास्थ्य चौकीको आफ्नै भवन निर्माणपछि सेवा लिन सहजता हुने स्थानीयको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस