आईपीएल क्लबहरूलाई बीसीसीआईले दियो कडा निर्देशन

सफल खबर संवाददाता

आइतबार, ०८ असार २०८२, १६ : १०
आईपीएल क्लबहरूलाई बीसीसीआईले दियो कडा निर्देशन

काठमाडौं। विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता मध्येको एक इन्डियन प्रिमियर लिग (आईपीएल) टोलीहरूका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले कडा निर्देशन जारी गरेको छ ।

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले आईपीएलको १८औं संस्करणको उपाधि जितेपछि खुसियाली मनाउने क्रममा ११ जनाको ज्यान गएपछि बीसीसीआईले नयाँ सहभागी क्लबका लागि नयाँ निर्देशन जारी गरेको थियो ।

जीतको खुसियाली मनाउने क्रममा भएको भागदौडमा ५० जनाभन्दा बढी घाइते भएका थिए । सुरक्षा कमजोरीका कारण उक्त घटना भएको बीसीसीआईको बुझाइ छ । स्थानीय प्रहरी प्रशासनले पनि क्लबकै कमजोरीका कारण घटना भएको बताउँदै आएको छ । 

 

 

 

 

 

त्यसैले प्रहरीले आरसीबीसँग जोडिएका केही पदाधिकारीविरुद्ध कारबाही पनि अगाडि बढाएको छ । उक्त घटनापछि घटनाको विश्लेषण गर्दै क्लबहरूका लागि नयाँ नियम बनाउन बीसीसीआईले तीन सदस्यीय समिति गठन गरेको थियो ।

सोही समितिको सुझाव अनुसार, बीसीसीआईले क्लबहरूका लागि नयाँ निर्देशन जारी गरेको हो । बीसीसीआईका सचिव देवजीत सैकियाका अनुसार, आगामी संस्करणदेखि उपाधि जित्ने टोलीले तीनदेखि चार दिनभित्र खुसियाली मनाउने कुनै पनि सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउने छैन ।

 

 

 

हतारमा खुसियाली मनाउने कार्यक्रम आयोजना गर्दा दुर्घटना हुने भएकाले यस्तो कार्यक्रम पहिले नै तयार पारेर सुरक्षा व्यवस्था सुनिश्चित गर्नुपर्ने बीसीसीआईले जनाएको छ । क्लबहरूले कुनै पनि सार्वजनिक कार्यक्रम आयोजना गर्दा बीसीसीआईसँग औपचारिक रूपमा अनुमति लिनु पर्नेछ । 

क्लबहरूले बीसीसीआईको अनुमतिविना कुनै सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउने छैनन् । क्लबहरूले सार्वजनिक कार्यक्रम आयोजना गर्दा चारदेखि पाँच स्तरीय सुरक्षा प्रोटोकल अनिवार्य रूपमा पालन गर्नु पर्नेछ ।

सुरक्षा व्यवस्थालाई ध्यानमा राखी विमानस्थलदेखि कार्यक्रम स्थलसम्म हुने सम्पूर्ण गतिविधिको बारेमा बीसीसीआईलाई पहिले नै जानकारी गराउनु पर्नेछ । कार्यक्रम अवधिभर खेलाडी र कर्मचारीका लागि थप सुरक्षा व्यवस्था अपनाउनु पर्नेछ । 

औपचारिक कार्यक्रमअघि क्लबहरूले सम्बन्धित जिल्लाको प्रहरी, राज्य सरकार र स्थानीय सरकारसँग अनिवार्य रूपमा अनुमति लिनु पर्नेछ ।

१८औं सँस्करणमा आरसीबीले उपाधि जितेपछि हतारमा खुसियाली मनाउने कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस