ग्वार्को ओभरपासको आज उदघाटन

सफल खबर संवाददाता

शुक्रबार, ०६ असार २०८२, ०९ : ३६
ग्वार्को ओभरपासको आज उदघाटन

काठमाडौं । ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास आज उदघाटन हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ओभरपास उदघाटन गर्ने छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार शुक्रबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिने छ ।

गएको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए ।

१२ फागुन २०७८ मा ठेक्का लागेको यो परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लागेको छ । तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा १४ करोड लागत थप भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले जानकारी दिए ।

‘करिब १७ करोड ६ लाख ८८ हजार ८८८ मा सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको थियो । तर, काम सम्पन्न भइसक्दा हाम्रो अनुमानित लागत ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ,’ भण्डारीले भने, ‘ग्वार्को चोकस्थित चार लेनको ओभरपास र पहुँचमार्गको योजना, डिजाइन, इञ्जिनियरिङ, खरिद तथा निर्माणकार्य (ईपीसी प्रणालीमा) भएको ठेक्का सम्झौता हो, जसअन्तर्गत डिजाइन र निर्माणको जिम्मेवारी पूर्ण रूपमा निर्माण व्यवसायीमा रहन्छ ।’

केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।

२०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो ।

तर, फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो । आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको कामसमेत ठप्प भएको थियो ।

ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि करिब एक करोड ४७ लाख हर्जाना तिराएर निर्माण सम्पन्न गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस