४२ वर्षको उमेरमा कप्तानी गर्दै जेम्स एन्डर्सन

सफल खबर संवाददाता

बुधबार, ०४ असार २०८२, ११ : ३१
४२ वर्षको उमेरमा कप्तानी गर्दै जेम्स एन्डर्सन

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका इङ्ल्यान्डका प्रभावशाली खेलाडी जेम्स एन्डर्सनले क्लब क्रिकेटमा भने ४२ वर्षको उमेरमा कप्तानको जिम्मेवारी पाएका छन् । 

दायाँहाते तीव्रगतिका बलर एन्डर्सन अझै घरेलु क्रिकेट खेलिरहेका छन् । उनी अहिले इङ्ल्यान्डको काउन्टी च्याम्पियनसिपमा पनि सक्रिय छन् । एन्डर्सनलाई आगामी खेलका लागि अंकाशायरले कप्तानको जिम्मेवारी दिएको हो ।

पहिलोपटक पिता बन्न लागेकाले टोलीका नियमित कप्तान मार्क ह्यारिस अस्ट्रेलिया फर्किएका छन् । त्यसैले उनको स्थानमा एन्डर्सनलाई कप्तानको जिम्मेबारी दिइएको क्लबले जनाएको छ । घरेलु व्यववसायिक क्रिकेटमा एन्डर्सनले कुनै पनि टोलीको कप्तानी गर्न लागेको यो पहिलो पटक हो ।

जारी सिजनमा चोटका कारण एन्डर्सनले धेरै खेल भने खेल्न सकेका छैनन् । उनको कप्तानीमा लंकाशायरले आफ्नो पहिलो खेल आगामी आइतबार केन्टविरुद्ध खेल्नेछ । जारी सिजनको काउन्टी क्रिकेटमा लंकाशायरले तेस्रो पटक कप्तान परिवर्तन गरेको हो । अस्ट्रेलियाका मार्क ह्यारिसअघि किटन जेनिङ्स टोलीको कप्तान थिए । 

एन्डर्सन आफ्नो समयका प्रभावशाली बलर हुन् । उनले आफ्नो सक्रिय खेलजीवनमा इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट टेस्ट क्रिकेटमा सात सय चार, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई सय ६९ र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १८ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस