सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक लिची उत्पादनतर्फ आकर्षित भएका छन् । परम्परागत रूपमा मकै खेती गर्दै आएका यहाँका किसानले लिची र आँपका बोट लगाउन थालेका छन् ।
यस क्षेत्रमा लिची र आँपलाई प्रमुख नगदे फलफूलका रूपमा लिइन्छ । पछिल्लो केही वर्षयता कृषकले मकैखेतीको तुलनामा फलफूलखेती बढी लाभदायक देखेपछि बारीका डिल, छेउछाउ तथा घर आँगनमै लिची र आँपका बिरुवा रोप्न थालेका छन् ।
गाउँभर अहिले लिची टिप्न किसानलाई भ्याइनभ्याइ छ । किसानहरु हरेक दिन भर्याङ ठड्याएर लिचीका दान चिप्ने चटारोमा देखिन्छन् । रामघाट– ११ की रूपा धौलाकोटीले लिची उत्पादनबाट वार्षिक लाखौँको आम्दानी गर्दै आइरहेको बताइन् । ४६ वर्षीया धौलाकोटीले करिब चार बिघा क्षेत्रफलमा ३० वटा लिचीका बोट र १५० वटा आँपका बोट रोपेकी छिन् । २५ वर्षअघि रोपेका लिची र आँप उनको आम्दानीको स्रोत हुन् ।
उनका अनुसार बोटमै प्रतिकिलो एक सयदेखि एक सय ५० रुपैयाँसम्ममा लिची बिक्री हुने गरेको छ । ग्राहक स्वयं किसानको घरमै आइपुग्ने भएकाले बजार खोज्न जानु नपर्ने उनको भनाइ छ ।
उनले भनिन्, ‘बाहिरबाट ल्याइने फलफूलमा विषादीको मात्रा बढी पाइने भएकाले पनि ग्राहकहरू बगैँचामै आउने गर्नुभएको छ, यसले बजार खोज्न जान परेको छैन र मूल्य पनि पाएका छौँ ।’
रूपा जस्तै रामघाट– ११ का किसान टेकबहादुर धमला अचेल लिची टिप्नमा व्यस्त छन् । पाँच रोपनी जमिनमा लिची खेती गर्दै आएका धमलाले यस वर्ष पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएको बताए ।
धमलाका अनुसार लिची खेतीले राम्रो आम्दानी दिने देखिएको छ । उनले भने, ‘पानी, मल र समयमै हेरचाह गर्न सके राम्रो फलेर बजारमा राम्रै मूल्य पाइन्छ । अहिले त लिचीको माग पनि बढ्दो छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ असार २०८२, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का