स्कटल्यान्डविरुद्ध नेपालको घातक बलिङ, पावर प्लेमै पाँच ब्याटर आउट

सफल खबर संवाददाता

मंगलबार, ०३ असार २०८२, २० : ४५
स्कटल्यान्डविरुद्ध नेपालको घातक बलिङ, पावर प्लेमै पाँच ब्याटर आउट

काठमाडौँ । स्कटल्यान्डमा जारी त्रिदेशीय ट्वान्टी-२० शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टिमविरुद्ध घातक बलिङ गरेको छ । 

स्कटल्यान्डको ग्लासगोमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टिमविरुद्ध नेपालले ६ ओभरमा पाँच विकेट लिएको हो । 

पहिलो इनिङको पहिलो पावर प्ले समाप्त हुँदासम्म स्कटल्यान्डका पाँच ब्याटर पभेलियन फर्किसकेका छन् । ६ ओभर समाप्त हुँदा स्कटल्यान्डले पाँच विकेट गुमाएर ३६ रन बनाएको थियो ।

नेपालका करण केसीले दुई विकेट लिए । यस्तै, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । नेपालले एक विकेट भने रनआउटबाट लिएको थियो । 

शृंखलामा नेपालको यो दोस्रो खेल हो । यसअघि, नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग कीर्तिमानी प्रदर्शन गरे पनि सुपर ओभरमा हार बेहोरेको थियो । उक्त खेल तीनपटकसम्म सुपर ओभरमा पुग्दा नेदरल्यान्ड्सले तेस्रो पटकमा जित निकालेको थियो ।

ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन पटकसम्म सुपर ओभरमा पुगेको यो पहिलो र हालसम्मको एक मात्र खेल हो ।

यता, स्कटल्यान्डको पनि जारी शृंखलामा यो दोस्रो खेल हो । स्कटल्यान्डले यसअघि पहिलो खेलमा डच टोलीविरुद्ध ३९ रनको जित निकालेको थियो । 

आइतबारदेखि सुरु भएको शृंखलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस