लागुऔषध कारोबारमा संलग्न ७ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ३० जेठ २०८२, १४ : ३९
लागुऔषध कारोबारमा संलग्न ७ जना पक्राउ

सिरहा । सिरहा जिल्ला प्रहरीले लागुऔषध विरुद्धको अभियानमा सफलता हासिल गर्दै तीन छुट्टाछुट्टै कारबाहीमा सात जनालाई पक्राउ गरेको छ । यस क्रममा खैरो हेरोइनसहित, धारिलो हतियार र लागुऔषध सेवनमा प्रयोग हुने उपकरणहरू पनि बरामद भएका छन् ।

प्रहरीका अनुसार, पहिलो घटनामा जेठ २७ गते राति गोलबजार नगरपालिका–४, क्याम्पस चोकबाट २० वर्षीय राकेश कुमार महतोलाई शंकास्पद हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। उनको शरीर खानतलासी गर्दा ४४० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो ।

त्यसैगरी जेठ २८ गते साँझ, सोही वडाको क्याम्पस चोकस्थित एक डेरा कोठाबाट गोप्य सूचनाका आधारमा तीन जनालाई पक्राउ गरियो ।पक्राउ पर्नेहरूमा अर्नामा गाउँपालिका–०३ का २० वर्षीय अभिषेक कुमार महतो, धनगढीमाई नगरपालिका–०८, कसहाका २२ वर्षीय सन्तोष कुमार महतो र औरही गाउँपालिका–१ का १८ वर्षीय प्रदीप कुमार यादव रहेका छन् ।

उनीहरूको कोठाबाट ०.९७० मिलिग्राम खैरो हेरोइनका साथै एउटा धारिलो चक्कु र गाँजा सेवन गर्ने वाटर गन बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी जेठ २८ गते दिउँसो गोलबजार नगरपालिका–५ मा भएको थियो। लागुऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले २४ वर्षीय बिमल कुमार महतो, २२ वर्षीय बिपेन कुमार साह र एक जना नाबालिगलाई पक्राउ गरेको छ। बिपेन कुमार साहको साथबाट १ ग्राम ८६० मिलिग्राम खैरो हेरोइन भेटिएको थियो। सोधपुछका क्रममा उनीहरूले उक्त लागुऔषध बिमल कुमार महतोबाट खरिद गरेको बयान दिएपछि बिमलको घर खानतलासी गर्दा थप ४०० मिलिग्राम खैरो हेरोइन बरामद भएको थियो ।

पक्राउ परेका सबैमाथि इलाका प्रहरी कार्यालय गोलबजारबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस