पूर्वराष्ट्रपति भण्डारीले एमाले अध्यक्ष बन्छु भनेको सुनेको छैन : शेरधन राई

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०८२, १४ : १६
पूर्वराष्ट्रपति भण्डारीले एमाले अध्यक्ष बन्छु भनेको सुनेको छैन : शेरधन राई

खोटाङ । नेकपा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष बन्छु भन्ने आफूले नसुनेको बताएका छन् । प्रेस चौतारी नेपाल खोटाङले गरेको पत्रकार सम्मेलनमा राईले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियताबारे टिप्पणी गरेका हुन् ।

‘एमाले अध्यक्ष बन्ने, केपी ओलीलाई रिप्लेस गरेर अध्यक्ष बन्ने कुरा हामीले सुनेको छैन, मैले सुनेको छैन,’ उनले भने ।कोशी प्रदेश इन्चार्ज रहेका राईले पूर्वराष्ट्रपति भण्डारीले देश र पार्टीहरुको बारेमा चासो राख्नुलाई अस्वभाविक रूपमा हेर्न नहुने पनि बताए ।

‘उहाँ (विद्या भण्डारी) सक्रिय राजनीतिकर्मी र सफल राष्ट्र अध्यक्ष भएकाले देश र राजनीतिमा चासो राख्नु स्वभाविक कुरा हो । उहाँले एमालेलाई पनि सुझाव दिन सक्नु हुन्छ, अन्य राजनीतिक दलहरूलाई पनि सुझाव दिन सक्नु हुन्छ,’ राईले भने ।

यदि पार्टीले आवश्यक ठानेर आग्रह गर्दा भने पूर्वराष्ट्रपति भण्डारीले निर्णय लिन सक्ने उनले बताए । ‘भोलि पार्टीले त्यो आवश्यकता ठान्यो, छलफलको विषय बन्यो, पार्टीले आग्रह गर्ने स्थिति बन्यो, त्यो सन्दर्भमा उहाँले निर्णय गर्ने कुरा हो,’ राईले भने ।

पार्टीले आवश्यक ठानेमा एमाले अध्यक्ष बन्न सक्ने सम्भावना रहे पनि अहिले चलिरहेको चर्चा ओलीलाई कमजोर बनाउन चाहनेहरूबाट भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस