राम चरणको फिल्म सेटमा दूघर्टना

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०८२, १२ : २१
राम चरणको फिल्म सेटमा दूघर्टना

नयाँदिल्ली  । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार राम चरणको आगामी फिल्म ‘द इन्डिया हाउस’को सेटमा एउटा भयानक दुर्घटना भएको छ । यसका कारण फिल्मको छायाङ्कन अचानक रोकिएको छ ।

हैदरावादको शमशाबाद क्षेत्रमा छायाङ्कनका क्रममा पानीको ट्याङ्की फुटेको थियो । यसले गर्दा बाढी जस्तो अवस्था सिर्जना भयो, सेटमा उपस्थित चालक दलका सदस्यहरू र सहायक छायाङ्कनकर्ताहरू घाइते भएका छन् । यस घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा पानीको तीव्र धारले सेटमा रहेका सामान र मानिसहरूलाई बगाएको देख्न सकिन्छ ।

फिल्मको एक्सन दृश्य समुन्द्र किनारमा छायाङ्कन भइरहेको थियो, त्यतिबेला अचानक पानीको ट्याङ्की फुट्यो । पानीको चाप यति धेरै थियो कि सम्पूर्ण सेट डुबानमा पर्यो र बाढी जस्तो अवस्था सिर्जना भयो । यस घटनामा एक जना सहायक क्यामेराम्यान गम्भीर घाइते भएका छन् भने अन्य चालक दलका सदस्यहरूले आफ्नो ज्यान बचाए ।

सबै घाइतेहरूलाई हैदराबादको एक निजी अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरूको उपचार भइरहेको बताइएको छ । हाल सुरक्षाका कारणले गर्दा फिल्मको छायाङ्कन पूर्ण रूपमा रोकिएको छ ।

दुर्घटनासँग सम्बन्धित भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । भिडियो सेट पानीमा डुबेको र तीव्र पानीको बहावका कारण कति ठुलो क्षति भएको स्पष्ट देखिन्छ ।

यद्यपि, दुर्घटनाको समयमा मुख्य अभिनेता निखिल सिद्धार्थ त्यहाँ उपस्थित थिए कि थिएनन् भन्ने कुरा अझै स्पष्ट छैन । अर्कोतर्फ, शमशाबाद प्रहरीलाई घटनाबारे जानकारी दिइएको छैन । त्यसैले प्रहरीले अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस