काठमाडौँ । नेकपा एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुको महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढेको छ । सहमतिका आधारमा नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन कमिटीमार्फत निर्वाचनको प्रक्रिया अघि बढेको हो ।
निर्वाचन कमिटीले निर्वाचनको प्रक्रिया अगाडि बढाउँदै उम्मेदवारहरूको कागजात रुजु गरिरहेको छ । कागजात रुजुको काम सकिएपछि मतदान प्रक्रिया अगाडि बढ्ने निवर्तमान उपाध्यक्ष धर्म गिरीले जानकारी दिए ।
निर्वाचन तालिकाअनुसार आज बिहान १० बजेदेखि मतदान सुरु हुनुपर्ने थियो । तर, निर्वाचन समितिले उम्मेदवारहरूको उमेर परीक्षण, आवश्यक कागजात परीक्षण लगायतको काम अघि बढाएको छ । जसले गर्दा निर्वाचन कार्यतालिका अनुसार हुन सकेको छैन ।
एमालेले अखिलमा ३२ वर्षे उमेर हद लगाएको थियो । उमेर हद्दका कारण चार जना निवर्तमान उपाध्यक्ष र १ जना महासचिव रोकिएका थिए भने ५ जना सचिवहरूबाट नै नयाँ नेतृत्व आउनेछ ।
उम्मेदवारी दिएका विद्यार्थीहरूको उमेर जाँचको काम भइरहेको गिरीले बताए । निर्वाचन समितिले विद्यार्थीको उमेर परीक्षण सकेपछि निर्वाचनका अन्य कारबाही अघि बढाउन बढाउने उनको भनाई छ । निर्वाचन समितिले उम्मेदवारहरूको उमेर खुल्ने सरकारी कागजात झिकाएर परीक्षण गरिरहेको छ ।
उमेर परीक्षणको काम सकिएपछि मतदान प्रक्रिया अघि बढ्ने र आजै नतिजा आउनेछ । अनेरास्ववियुले विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाएको छ।
अनेरास्ववियुमा सहमतिका आधारमा नेतृत्व चयन गर्ने भन्दै अध्यक्षमा डाक्टर सुजन कडरियाको नाम प्रस्ताव अध्यक्ष मण्डलले गरेको थियो । अध्यक्षका दाबेदार तथा अन्य विद्यार्थीहरूले त्यसको विरोध जनाएपछि निर्वाचनको प्रक्रिया अघि बढेको हो ।
अध्यक्षमा डा.सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन् । अध्यक्ष मण्डलले कडरियाको नेतृत्वमा पौडेलको नाम उपाध्यक्षमा प्रस्ताव गरेको थियो । तर, पौडेल पक्षले नाराबाजीसहित चुनाव मागेपछि निर्वाचन प्रक्रिया अघि बढेको थियो ।
त्यस्तै उपाध्यक्षमा ८ जनाले उम्मेदवारी दिएका छन् । खुल्ला उपाध्यक्षमा भरत धामी, धमेन्द्र केसी, विकास श्रेष्ठ, राजकुमार ढकाल र रोहित बमको उम्मेदवारी परेको छ । भने महिला उपाध्यक्षमा अञ्जना शिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईँको उम्मेदवारी परेको छ ।
त्यस्तै महासचिवमा समेत ३ जनाको उम्मेदवारी परेको छ । महासचिवमा दीपक धामी, आरके रोमस, र सुनिल कँडेलको उम्मेदवारी परेको हो । धामी डाक्टर कडरिया प्यालनबाट उम्मेदवार बनेका हुन् । दुई अध्यक्षका दाबेदार कडरिया र धामी एउटै प्यानलबाट अध्यक्ष र महासचिवका उम्मेदवार बनेका हुन् ।
उपमहासचिव पदमा कमल जोशी, अमर शाही, र प्रेमिका शाहीको उम्मेदवारी परेको छ भने सचिवमा धेरैले उम्मेदवारी दिएका छन् । मदन भण्डारी, राजेश ओली, रक्षा बम, मनोज राई, गोपाल नेपाल, धर्मराज तिमिल्सेना, अनुप लामिछाने, स्मृति बराल, रेखा न्यौपाने, नीरज पौडेल लगायतले उम्मेदवारी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०८२, १४ : ४३
लेखकबाट थप