काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले सरकारले ल्याएको स्टार्टअप उद्यमीहरूका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।
काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा अध्यक्ष कोइरालाले यस्तो कार्यक्रम सरकारले कसरी कार्यान्वयन गर्छ भन्नेबारे हेर्न बाँकी रहेको बताएका हुन् । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत रहेका उनले भने, ‘आगामी आर्थिक वर्षको बजेटले स्टार्टअप कर्जाहरूलाई सब्जिडाइज रेटमा ऋण दिने प्रबन्ध मिलाउँछौँ भनिएको छ । अहिले पनि सहुलियतपूर्ण कर्जामा दिएको ऋणको ब्याज बैंकहरुले पाइनसकेको अवस्था छ । यस्तो अवस्थामा यो कसरी कार्यान्वयन हुन्छ ? यो हेर्न बाँकी नै छ ।’
आर्थिक वर्ष २०८२/८३ को बजेटले स्टार्टअप उद्यमीलाई सीप विकास, व्यवसाय विस्तार, बजारीकरण र मूल्य श्रृंखलामा आबद्ध गर्न सहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गरेको छ । यसका लागि तीन प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन ७३ करोड विनियोजन गरिएको छ ।
कोइरालाले थपे, ‘आगामी बजेटले बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा तथा गैरबैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्ने भनेको छ । यो सकारात्मक रहेकोले यसलाई चाँडै कम्पनी स्थापना गर्नुपर्छ ।’
धेरै अगाडिदेखि भन्दै आएको एसेट म्यानेजमेन्ट कम्पनीबारे आगामी बजेटले सम्बोधन गरेकाले यसलाई चाँडै कार्यान्वयनको तहमा लैजानुपर्नेमा उनले जोड दिए । ‘नियो बैंक स्थापनाको पनि कुरा आएको छ । यसको काम चाँडै नै राष्ट्र बैंकले अगाडि बढाउन आवश्यक रहेको छ’, उनले भने, ‘असहज, अप्ठेरो भएका उद्योगी तथा ऋणीहरूलाई पुनर्संरचना गरिने बजेटमा उल्लेख छ । यसबारे आउने मौद्रिक नीतिले सम्बोधन गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०८२, १४ : २०
लेखकबाट थप