पाेखरामा ‘महाभोज’काे प्रिभ्यु प्रिमियर

सफल खबर संवाददाता

मंगलबार, २७ जेठ २०८२, १२ : ३९
पाेखरामा ‘महाभोज’काे प्रिभ्यु प्रिमियर

काठमाडौँ । दिनेश राउतको निर्देशन रहेको फिल्म ‘महाभोज’को सोमबार पोखरामा प्रिमियर गरिएको छ । प्रिमियरमा चलचित्रका कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत र निर्माता हिमाल कडरिया लगायत सहभागी थिए ।

अतिथिको रूपमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्मा, केही सहकारी पीडितहरू, विभिन्न क्षेत्रका व्यक्तित्वहरू तथा पत्रकारको उपस्थिति थियो । फिल्म हेरेपश्चात् दर्शकले यसको कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन् । 

फिल्मको परिवेशमा पूर्ण रूपमा भिजेका दर्शकहरूले चर्को स्वरमा आक्रोश पोख्दै ‘महाभोज’ ले विगतमा ‘आगो’ फिल्मले जस्तै विद्रोह जन्माउन सक्ने बताए । क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यस फिल्मका निर्माता हिमाल कडरिया हुन् । फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका कलाकारहरूको अभिनय छ ।

फिल्म ‘महाभोज’ यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउँदै छ । पोखराको सफल प्रिमियरपश्चात् यसको प्रिमियर बुटवल, विराटनगर र धरानमा पनि क्रमशः आयोजना हुने निर्माण युनिटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस