दुबईमा पहिलोपटक कुमा सागर र ख्वप ब्यान्डको प्रस्तुति, 'गोर्खा साँझ'मा सांगीतिक धमाका

सफल खबर संवाददाता

शनिबार, २४ जेठ २०८२, ०८ : ४५
दुबईमा पहिलोपटक कुमा सागर र ख्वप ब्यान्डको प्रस्तुति, 'गोर्खा साँझ'मा सांगीतिक धमाका

काठमाडौ । प्रवासमा रहेका नेपाली संगीतप्रेमीहरूका लागि एक विशेष अवसर आउँदैछ। आगामी जुलाई २० मा गायक कुमा सागर र ख्वप ब्यान्ड पहिलोपटक दुबईको मञ्चमा प्रस्तुत हुने भएको छ । ‘तेस्रो गोर्खा साँझ’ अन्तर्गत आयोजना हुन लागेको यो बृहत् सांगीतिक कार्यक्रम अल नासर क्लब, दुबईमा हुनेछ।

एनआरएनए यूएईका उपाध्यक्ष तथा आयोजक भीम मल्ल ठकुरीका अनुसार, कार्यक्रम दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म चल्नेछ। कार्यक्रमस्थल औद मेथा मेट्रो स्टेशनको नजिकै पर्छ, जसले दर्शकलाई सहज पहुँच दिनेछ।

ठकुरीले भने, “यो केवल कन्सर्ट होइन, प्रवासमा रहेका नेपालीको भावना, पहिचान र एकताको उत्सव हो।” कार्यक्रमको प्रवेश शुल्क ५० दिराम निर्धारण गरिएको छ। समयमै टिकट सुरक्षित गर्न आयोजकले आग्रह गरेका छन्।

देशप्रेमी तथा मन छुने गीतहरूबाट परिचित गायक कुमार सागर र नेपाली मौलिक संगीतमा छुट्टै छवि बनाएको ख्वप ब्यान्ड दुवै एकै मञ्चमा देखिन लागेकाले कार्यक्रम विशेष र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

यसपटकको ‘गोर्खा साँझ’ कार्यक्रमलाई माउन्ट एभरेस्ट सुपरमार्केटले टाइटल प्रायोजकको रूपमा साथ दिएको छ भने विभिन्न नेपाली संघ–संस्थाहरूको पनि सहकार्य रहेको आयोजकले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस