काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आजदेखि आइसिसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गतको सिरिज खेल्दै छ । सिरिजको पहिलो खेलमा आज नेपाल र आयोजक स्कटल्याण्ड आमने सामने हुँदै छन् । यो खेल नेपाली समय अनुसार अपराह्न ३:४५ बजेदेखि शुरु हुदैछ ।
नेपाल र स्कटल्याण्डले अहिलेसम्म ८ एक दिवसीय खेल खेलेका छन् । जसमा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ । त्यस्तै एक खेलको कुनै नतिजा आएको छैन ।
स्कटल्यान्डसहित नेपाल र नेदरल्याण्डसले यो सिरिज खेल्दै छन् । नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग भोलीदेखि देखि १० सम्म सिरिज खेल्नेछ । लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी(२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ । लिग-२ को अंक तालिकामा नेपाल पुछारमा रहेको छ ।
अहिलेसम्म १२ खेल खेलेको नेपालको ६ अंक मात्र रहेको छ । नेपालले अन्य सात देशले भन्दा कम खेल पनि खेलेको छ ।हाल अंक तालिकामा अमेरिका शिर्ष स्थानमा रहेको छ । अमेरिकाको २० खेलमा २८ अंक छ । त्यस्तै यो सिरिज खेल्न लागेको नेदरल्याण्डसको २० खेलमा २६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी स्कटल्याण्डको १६ खेलमा २० अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ । नेपालले यसअघि खेलेका १२ खेलमा केवल २ खेल जितेको छ भने ८ खेलमा हार बेहोरेको छ । त्यस्तै २ खेलको नतिजा आएको थिएन ।अंक तालिकामा पुछारमा रहेकोले नेपाल जित्नै पर्ने दबाबमा रहेको छ । नेपालले इङल्याण्ड र स्कटल्याण्डमा अभ्यास खेल खेलेर कन्डिसनमा आफूलाई ढाल्ने प्रयास गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ जेठ २०८२, १४ : १७
लेखकबाट थप