श्रेयसको सनसनीपूर्ण खेलले पञ्जाब आईपीएलको फाइनलमा

एजेन्सी

सोमबार, १९ जेठ २०८२, ०९ : ०५
श्रेयसको सनसनीपूर्ण खेलले पञ्जाब आईपीएलको फाइनलमा

एजेन्सी । एक सिजन अघि कलकता नाइट राइडर्सलाई इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि दिलाएका कप्तान श्रेयस अय्यरले यस पटक नयाँ टोली पञ्जाबलाई फाइनलमा प्रवेश गराएका छन्। पञ्जाब अब आईपीएलमा उपाधिबाट एक खेल टाढा छ। पञ्जाबले क्वालिफायर–२ मा मुम्बईलाई ५ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो।

कप्तान अय्यरले ४१ बलमा ८७ रन प्रहार गरे। उनको पारीमा ५ चौका र ८ छक्का समावेश थियो। २०४ रनको लक्ष्य पाएको पञ्जाबले एक ओभर बाँकी रहँदा नै २०७ रन बनाएको हो। आईपीएलको इतिहासमा मुम्बईले २०० भन्दा बढी योगफलको रक्षा गर्न नसकेको यो पहिलो पटक हो।

पञ्जाबको यो यात्रामा कप्तान अय्यरको प्रेरणा महत्त्वपूर्ण रह्यो। टोलीका शशाङ्क सिंह गुजरात टाइटानसँगको खेल सम्झन चाहन्छन्। अन्तिम ओभरमा अय्यर ९७ रनमा नन स्ट्राइकिङ क्रिजमा थिए। अर्कोतर्फ सिंह थिए।
मोहम्मद सिराजको पहिलो बलमा शशाङ्कले चौका प्रहार गरे। दोस्रो बलमा उनले एक रन लिन खोजेका थिए। सोही बलमा अय्यरले नै शशाङ्कलाई जोखिमपूर्ण दुई रन लिन लगाएर स्ट्राइक पनि उनलाई दिए। सो ओभरमा अय्यरले स्ट्राइक पाएनन् भने शशाङ्कले २३ रन जोडे। पञ्जाबले ११ रनले खेल जितेको थियो। टिमका लागि आफ्नो व्यक्तिगत स्वार्थको पनि ख्याल नराख्ने कप्तानकै कारण टिमको उत्साहमा वृद्धि भएको शशाङ्क बताउँछन्।

पन्जाबका प्रशिक्षक रिक्की पोन्टिङले ऐयारसँग दिल्लीमा सहकार्य गरेका थिए। पोन्टिङकै विचारमा पनि अहमदाबादमा २४३ रन प्रहार गरिएको सोही खेलले टोलीमा हरेक खेलाडीमा उत्साह थपिएको थियो।

प्रतिक्रिया दिनुहोस