काठमाडौँ । अभिनेता सरोज खनाल थियटरमा फर्किएका छन् । ‘मञ्जिरा’ नाटक मार्फत करिब ८ वर्षपछि उनी थियटरमा फर्किएका हुन् । उनको कमब्याक नाटक थापागाउँस्थित मण्डला थिएटरमा शनिबारबाट नियमित मञ्चन सुरु भएको छ ।
फिल्म अभिनयले क्यारेक्टरमा बसिरहने बानी छुटेका कारण फेरि थियटर अभिनयमा होमिएको अभिनेता सरोज खनाल बताउँछन् । लामो समयपछि थियटरमा फर्किँदा रमाइलो अनुभव भइरहेको उनको धारणा छ ।
‘सुटिङमा गयो । जे जस्तो गर भन्छन् त्यस्तै गर्यो । जस्तो डाइलक दिन्छन्, त्यस्तै बोल्यो । भएन भने १०, १५ चोटी रि टेक गर्यो’, सरोजले भने ‘त्यसले क्यारेक्टरमा रहिरहन, भिज्न गाह्रो हुँदो रहेछ ।’ नाटकमा महिनौँ रियलसल गर्ने, शो भरि अन्य काम नलिने भएकोले पनि चरित्र राम्रो हुने उनको भनाई छ । ८ वर्षअघि खनालले मण्डलाकै नाटक ‘१२ दुर्वासा’ अभिनय गरेका थिए ।
‘मञ्जिरा’ को नियमित मञ्चन अघि शुक्रबार विशेष शो आयोजना भएको थियो । जसमा नाटक विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्व र पत्रकारलाई देखाइएको थियो । नाटकका बारेमा प्रतिक्रिया बुझ्न विभिन्न क्षेत्रका व्यक्तिका लागि विशेष शो गरिएको हो ।
‘मञ्जिरा’ पोलिटिकल सोसियल ड्रामा हो । नाटकले अन्याय सहेर बस्नु पनि आफैँलाई अन्याय गर्नु रहेको सन्देश दिन्छ । सरोजको अलवा नाटकमा सरिता गिरी, सरस्वती चौधरी, सुशाङ्क मैनाली र अनुप न्यौपानेको अभिनय छ । सन्देश घिमिरे र सोमनाथ खनालको लेखन रहेको नाटकको निर्देशन सोमनाथ खनाल रहेका छन् ।
नाटक असार ८ गतेसम्म हरेक दिन (सोमबार बाहेक) बेलुकी ५ः १५ बजे, शनिबार दिनको १ बजे र ५ः १५ मा मञ्चन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ जेठ २०८२, ११ : ४७
लेखकबाट थप