बागलुङका पाँच पालिका पूर्ण खोप सुनिश्चित घोषणा

रासस

विहीबार, ०८ जेठ २०८२, १३ : ३२
बागलुङका पाँच पालिका पूर्ण खोप सुनिश्चित घोषणा

बागलुङ । बागलुङका पाँच स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको छ । जिल्लाको बागलुङ, गलकोट, ढोरपाटन र जैमिनी नगरपालिका तथा ताराखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको हो ।

बागलुङ नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका छ सय ६३ जना बालबालिकाले नियमित खोप लगाइरहेका र १६ देखि २४ महिना उमेर समूहका चार सय ४९ जनालाई खोप दिएपछि पूर्ण खोप सुनिश्चित नगर बनेको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो । नगरपालिकाका १४ वटै वडाका स्वास्थ्य संस्थामा खोपको सुविधा उपलब्ध गराएको उनले जानकारी दिए।

गलकोट नगरपालिकामा जन्मेदेखि १५ महिनाका चार सय २७ जना बालबालिका र १६ देखि २३ महिनाका तीन सय २७ बालबालिकालाई खोप दिएपछि नगरलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेलले जानकारी दिए । पालिकामा १४ वटा स्वास्थ्य संस्था रहेका जनाउँदै उनले सबै संस्थाबाट खोप दिने व्यवस्था मिलाइएको बताए । 

ढोरपाटन नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका छ सय आठ बालबालिका र १६ देखि २३ महिना उमेर समूहका चार सय ५४ जना बालबालिकालाई खोप दिएपछि नगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य संयोजक भुमिश्वर शर्माले बताए । गत माघ १ गतेदेखि खोजपड्ताल कार्यक्रम सुरु गरिएको भन्दै गत चैत्र र गत वैशाखमा नौ वटै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेसँगै अहिले पालिकालाई घोषणा गरिएको उनले उल्लेख गर्नुभयो । 

जैमिनी नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका तीन सय १३ र १६ देखि २३ महिना उमेर समूहका दुई सय २६ बालबालिकालाई खोप दिएपछि नगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य संयोजक गोविन्दप्रसाद शर्माले जानकारी दिए ।

जिल्लाको ताराखोला गाउँपालिकामा १५ महिना उमेर समूहका एक सय २३ जनाले नियमित खोप लगाइरहेका र १६ देखि २३ महिना उमेर समूहका ७० जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाले जानकारी दिए । पलिकामा छ वटा स्वास्थ्य संस्था रहेका भन्दै ती सबैबाट खोप सेवा दिने व्यवस्था मिलाइएको उनको भनाइ छ । 

निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, काठे खोला गाउँपालिका, बडिगाड र बरेङ गाउँपालिका पूर्ण खोप घोषणा हुन बाँकी छन् । यी पाँच पालिका घोषणा भएपछि बागलुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन भएको जिल्ला घोषणा गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले बताए । यही जेठ २५ गतेसम्म सबै पालिकामा खोप अभियान सम्पन्न गरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस