बुद्ध एयरको ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर परीक्षण उडान

सफल खबर संवाददाता

विहीबार, ०८ जेठ २०८२, १२ : ३५
बुद्ध एयरको ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर परीक्षण उडान

चितवन । बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले आज बिहान काठमाडौं–भरतपुर परीक्षण उडान गरेको छ । बिहान साढे ९ बजे भरतपुर विमानस्थलमा पहिलोपटक अवतरण गरेको बुद्ध एयरको ७२ सिटे जहाजले दुबै साइडबाट उडान र अवतरण गरेको थियो ।

दक्षिण पूर्वतर्फ रनवे १५ र पश्चिमतर्फ रनवे ३३ बाट उडान तथा अवतरणको परीक्षण गरिएको हो ।बुद्धका पाइलटद्वय प्रमोद थापा र रवि श्रेष्ठले विमानको परीक्षण उडान गरेका थिए । क्याप्टेन थापाले परीक्षण उडानमा खासै समस्या नभएको सुनाए । २७ वर्षदेखि बुद्धमा काम गर्दै आएका थापाले भरतपुर विमानस्थलमा उडान तथा अवतरणमा असहज र जोखिम नभएको बताए । उनले परीक्षण उडानका रिपोर्टहरु बुझाउने तयारी सुरु गरिसकेको जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले विमानको उडान अवतरणको निरीक्षण गरेका थिए । प्राधिकरणमा विमानहरुको रेगुलेसन तथा सुरक्षा सम्बन्धी विभागसमेत हेर्दै आएका कर्णले भरतपुरमा ७२ सिटको जहाज कसरी ल्याउन सकिन्छ भनेर परीक्षण उडान गरिएको बताए ।

उनले विमानको परीक्षणका क्रममा दुई चालकबीच भएको कुराकानी, भ्वाइस रेकर्ड, इन्जिनको अवस्था, ब्रेकिङ्ग एक्सन जस्ता विषयको अध्ययन फ्लाइट रेकर्डरका माध्यमबाट हेरेर रिपोर्ट तयार गरेपछि मात्रै उडान परीक्षण सफल भयो कि भएन भन्न सकिने बताए ।

लोड विमान परीक्षण हुनु र लोडसहित अवतरण गर्नु फरक विषय भएको भन्दै उनले सबै पक्षहरुको विश्लेषण गरिने बताए । अबको एक वा डेढ महिनामा रिपोर्ट बुझाउने र एयरलाइन्सले चाहेमा दुई महिना भित्र नियमित उडान गर्न सक्ने बताए ।विमानको उडान परीक्षणका क्रममा नेपाल नागरिक उड्यन प्राधिकरणका इन्जिनियरहरु पनि सँगसँगै रहेकाले उनीहरुले पनि रिपोर्ट दिने बुद्ध एयर भरतपुरका स्टेशन इन्चार्ज भक्त बस्नेतले बताए ।