पोखरा विमानस्थल सम्बन्धी लेखा समितिको प्रतिवेदन त्रुटिपूर्ण र हचुवा भएको चिनियाँ ठेकेदार कम्पनीको दाबी

सफल खबर संवाददाता

मंगलबार, ०६ जेठ २०८२, १४ : १८
पोखरा विमानस्थल सम्बन्धी लेखा समितिको प्रतिवेदन त्रुटिपूर्ण र हचुवा भएको चिनियाँ ठेकेदार कम्पनीको दाबी

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी लेखा समितिको प्रतिवेदन त्रुटीपूर्ण र हचुवा भएको परियोजनाको ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले जनाएको छ ।कम्पनीले प्रतिवेदनमा आफूमाथि गरिएको टिप्पणीहरूलाई तथ्यहीन, हचुवा र पूर्वाग्रही भएको भन्दै विज्ञप्तिमार्फत आपत्ति जनाएको छ ।

राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले विमानस्थलमा ८ अर्ब २३ करोड बढी भ्रष्टाचार भएको प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनमाथि कम्पनीले असहमति जनाएको हो ।

गोरखापत्रमा एक विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ, “प्रतिवेदनमा हाम्रो कम्पनीसम्बन्धी उल्लेख गरिएका विषयवस्तुहरू पूर्ण रूपमा तथ्यसँग मेल खाँदैनन्। त्यसले परियोजनाको सम्पूर्ण कार्यान्वयन प्रक्रियाको गहिरो अनुसन्धान र वस्तुगत विश्लेषणको अभाव देखाउँछ, जुन हामीलाई अत्यन्तै आश्चर्यजनक र चिन्ताजनक लागेको छ।”

कम्पनीले विमानस्थल निर्माणका क्रममा जटिल भौगोलिक अवस्था, मुद्रास्फीति र कोभिड-१९ महामारी जस्ता चुनौतीहरूका बाबजुद मार्च २०२२ मै निर्माण सम्पन्न गरिएको र डिसेम्बर २९, २०२२ मा नेपाल र चीन सरकारबीच हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर भएको बताएको छ ।

प्रतिवेदनमा उठाइएको कर छुट सम्बन्धी विषयमा पनि कम्पनीले स्पष्टिकरण दिएको छ। कम्पनीले नेपाल र चीनबीच हस्ताक्षर भएको कार्यान्वयन सम्झौताको प्रावधानअनुसार सम्पूर्ण कर छुटका प्रक्रिया पालना गरिएको र त्यसमा प्रयोग भएको प्रत्येक मास्टर सूचीको दस्तावेज नेपाल सरकारको स्वीकृति सहित सुरक्षित राखिएको उल्लेख गरेको छ ।

कम्पनीले, जीटूजी सहकार्यमा आधारित परियोजनाहरूमा कर छुट अन्तर्राष्ट्रिय मान्य मानक भएको र नेपालमा पनि उक्त प्रक्रिया नियमित रूपमा प्रयोग हुँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस