चिनियाँ जनकांग्रेसका उपाध्यक्षले प्रधानमन्त्री ओलीलाई गरे भेट

सफल खबर संवाददाता

विहीबार, ०१ जेठ २०८२, १४ : ०४
चिनियाँ जनकांग्रेसका उपाध्यक्षले प्रधानमन्त्री ओलीलाई गरे भेट

काठमाडौँ। नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग सिआओ चीसहितको चिनियाँ टोलीले भेट गरेको हो ।

भेटमा जेठ २ गतेदेखि काठमाडौँमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै नेपाल र चीनबीचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न उच्च प्राथमिकताका साथ तत्परता देखाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

टोली नेता सिआओले नेपालको विकास र समृद्धिका लागि चिनियाँ नेतृत्वको शुभेच्छा रहेको अवगत गराउँदै गत डिसेम्बरमा प्रधानमन्त्री ओलीबाट भएको चीनको औपचारिक भ्रमण सफल रहेको स्मरण गरे ।

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि मित्रवत, समस्यारहित घनिष्ट एवं हार्दिक सम्बन्ध रहिआएको उल्लेख गर्दै विकास र प्रविधिका क्षेत्रमा चीनले तीव्र रूपमा गरेको प्रगति र त्यसको विश्वभर परेको प्रभावको सराहना गरे ।

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चीनफिङको पछिल्लो नेपाल भ्रमणको स्मरण गर्दै उक्त भ्रमण बहुआमिक र ऐतिहासिक रहेको उल्लेख गरे । उनले नेपाल एक चीन नीतिप्रति पूर्णप्रतिबद्ध रहेको दोहोर्‍याउँदै दुई देशबीच यसअघि भएका सम्झौता कार्यान्वयनका लागि दुवै देशका तर्फबाट अग्रसरता लिनुपर्नेमा जोड दिए ।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि चिनियाँ राजदूत चन सोङ र चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस