गोरखा। भ्रमण वर्षलाई लक्षित गरी गोरखा नगरपालिकाले ‘स्ट्रिट नम्बर’ राख्न सुरु गरेको छ । आँबुखैरेनीबाट गोरखा प्रवेश गर्ने मूलगेटदेखि गोरखा दरबारसम्म र हरमटारीचोकदेखि कोखे आहालेसम्मको विभिन्न ठाउँमा स्ट्रिट नम्वर उल्लेखित बोर्ड राख्न थालिएको हो ।
शुक्रवारबाट काम सुरु भएको बताउँदै गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले हालसम्म करिव ३० वटा स्थानमा ‘स्ट्रिट नम्बर’सहितको बोर्ड राखिएको बताए। ‘कुल ३९ वटा ठाउँलाई नम्बरिङ गर्ने हो,’ उनले भने, ‘अब केही ठाउँमा मात्र बाँकी छ, एक दुई दिनमा सबै ठाउँमा राखिसक्छौं।
गोरखा आँबुखैरेनी सडकखण्डको अवुवा, स्याउली, दश किलो लगायतका बिभिन्न चोकमा स्ट्रिट नम्बरिङ बोर्ड राखिने उनले जानकारी दिए । त्यस्तै बजार क्षेत्रको प्रतिक्षालयचोक, आर्युवेदिक चोक, रंगशाला, हरमटारीचोक, शक्तिचोक, पुरानो बसपार्क, बिपी चोक, ठूलोआँगन, तिनधारे, छहरे लगायतका ठाउँलाई पनि नम्बरिङ गरिने उनको भनाइ छ ।
उनका अनुसार हरमटारीचोकदेखि कोखे आहाले खण्ड अन्तर्गत बराह, आहाले, ढुंगागाडेचोक, फिनामचोकलगायतका स्थानमा स्ट्रिट नम्बरको बोर्ड राखिने छ । बोर्ड राखिएको स्थानबाट पुग्न सकिने ठाउँको नाम पनि उल्लेख गरिने छ ।
‘क्यू आर कोडसहित बोर्ड राखेका छौं, उक्त क्यू आर कोड स्क्यान गरेपछि त्यहाँबाट कुन कुन ठाउँ पुग्न सकिन्छ भनेर त्यो ठाउँको विवरणहरू आउँछ,’ इन्जिनियर ढकालले भने । गोरखा आउने पर्यटकलाई गोरखाका विभिन्न ठाउँको जानकारी लिन सहज होस् भन्ने उदेश्यले क्यू आर कोडसहितको स्ट्रिट नम्वर राखिएको उनले जानकारी दिए ।
त्यस्तै जिल्लाका ऐतिहासिक र धार्मिक महत्वका स्थानमा क्यूआर कोड सहितको सूचनामूलक होर्डिङ बोर्ड राख्ने काम पनि सुरु भएको छ । नगरपालिकाले पहिचान गरेको कुल ५६ स्थानमध्ये हालसम्म १८ ठाउँमा होर्डिङ बोर्ड राखिसकिएको इन्जिनियर ढकालले बताए । उक्त बोर्डमा त्यस ठाउँको धार्मिक र ऐतिहासिक महत्वसँगै आवश्यक विवरण उल्लेख गरिएको उनले जानकारी दिए ।
क्यू आर कोडसहित बोर्ड राखेका छौं, उक्त क्यू आर कोड स्क्यान गरेपछि त्यहाँबाट कुन कुन ठाउँ पुग्न सकिन्छ भनेर त्यो ठाउँको विवरणहरू आउँछ-प्रकाश ढकाल,इन्जिनियर, गोरखा नगरपालिका
उनका अनुसार वडा नम्बर १ को ताप्लेकोट र अकला मन्दिर, वडा नम्वर २ को भुतिया छाँगो र गौरीशंकर मन्दिर, वडा नम्बर ३ को बिन्ध्यवासिनी मन्दिर, वडा नम्बर ४ को भिमसेन पार्क र भगवतीस्थान मन्दिर, वडा नम्बर ५ को चिल्ड्रेनपार्क र द्रव्य शाह चौतारा, वडा नम्बर- ६ को गोरखा दरबार, संग्रहालय, ठूलो आँगन र रानीपोखरी परिसरमा होर्डिङ बोर्ड राखिने छ ।
त्यस्तै वडा नम्बर- ८ को बराह मन्दिर, वडा नम्बर १० को महादेवटारी, वडा नम्बर १३ को रामशाह उद्यान र वडा नम्ब र १४ को बुढीकोट र अकला मन्दिरमा होर्डिङ बोर्ड राखिने छ । वडा नम्बर ७, ९ र १० को केही स्थानमा पनि होर्डिङ बोर्ड रहने उनले जानकारी दिए । ती स्थानमध्ये केहीमा बोर्ड राखिसकिएको छ भने केहीमा राख्ने काम भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० बैशाख २०८२, १५ : ०१
लेखकबाट थप