संसद्‌मा दलको आधिकारिक धारणा मात्रै प्रस्तुत गर्न आग्रह

सफल खबर संवाददाता

मंगलबार, ३० बैशाख २०८२, १४ : ०५
संसद्‌मा दलको आधिकारिक धारणा मात्रै प्रस्तुत गर्न आग्रह

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद नारायण प्रसाद आचार्यले संसदमा जनताको आवाज ओझेलमा परेको गुनासो गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘नेपालको संसदीय अभ्यास हेर्दा राष्ट्र र जनता भन्दा पनि व्यक्तिगत स्वार्थ केन्द्रित भएको हो कि भन्ने परिस्थिति बनेको पाइएको छ,’ उनले भने । संसद्‌मा जनताका आवाज सुनिनुपर्ने उनको आग्रह छ ।

उनी भन्छन्, ‘संसद भनेको राष्ट्रको गरिमामय महत्त्वपूर्ण थलोको रुपमा रहको छ । संसदलाई दुरदराजको आवाज बोल्ने, देश अगाडि बढाउने सुनौलो बाटो तय गर्ने मर्यादित थलो हो ।’

तर, यस अनुसार व्यवहार नभइराखेको उनको भनाइ छ । उनी थप्छन्, ‘तर, संसद्मा स्तरहिन, असंसदीय र गैरजिम्मेवार अभिव्यक्तिले गर्दा संसद झगडा गर्ने स्थलको रुपमा रहेको हो कि भन्ने जनतामा भ्रम पर्न गएको छ ।’

यस्ता गतिविधि अन्त्य गर्दै अगाडि बढ्न आवश्यक रहेको उनको राय छ । लोकतन्त्रमा राजनीतिक दल महत्वपूर्ण हुने भएकाले दलको धारणा मात्रै संसद्मा राख्दा उचित हुने उनको आग्रह छ ।

‘लोकतन्त्रमा राजनीतिक दल नै प्रमुख निर्णायक शक्ति हुन् । दलको आधिकारिक धारणा मात्र ल्याऔं’ उनले भने, ‘तपाईं हामी दलको प्रतिनिधिको रुपमा विश्वास गरेर जनताले अमुल्य मत प्रदान गर्नु भएको हो ।’

प्रचारका लागि दलको धारणा बाहिर गएर बोल्न नहुने पनि उनको आग्रह छ । अगाडि भन्छन्, ‘भाइरल हुने गरी विषयवस्तु नल्याऔं । सामाजिक मर्यादा कायम हुने गरी जनता केन्द्रित र आधिकारित धारणा प्रस्तुत गर्दा मात्र संसदको मर्यादा कायम हुन्छ ।’

पपुलरको नाममा अनावश्यक विषय राख्दा संसदको गरिमा कायम नहुने उनको भनाइ छ । सरकार ढल्छ कि ढल्दैन भन्ने विषय छाडेर विकास आयोजनामा के कति प्रगति भएका छन् भनेर बहस गर्दा उचित हुने उनले बताए ।

जनताको जीवनमा प्रभाव पार्ने शिक्षा, स्वास्थ्य, रोजगारीका विषयमा छलफल गर्न आवश्यक रहेको उनले बताए । संविधानमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क भनिएको उल्लेख गर्दै यसअनुसार अगाडि बढ्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस