भरतपुरको रोयल सेन्चुरी होटल अबदेखि ल्याण्डमार्क ग्रुपले चलाउने

सफल खबर संवाददाता

सोमबार, २९ बैशाख २०८२, १६ : ४५
भरतपुरको रोयल सेन्चुरी होटल अबदेखि ल्याण्डमार्क ग्रुपले चलाउने

चितवन l चितवनको भरतपुर ओरालोमा रहेको चर्चित होटल रोयल सेन्चुरी अबदेखि ल्याण्डमार्क ग्रुपले सञ्चालन गर्ने भएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले आज (सोमबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो व्यवस्थापनमा होटल सञ्चालन ल्याएको जानकारी दिएको हो । रोयल सेन्चुरीले देवघाटमा सञ्चालन गरिरहेको फार्म हाउस पनि ल्याण्डमार्कले नै चलाउने भएको छ ।

भरतपुर हाइटमा ७० रुमको होटल र देवघाट गाउँपालिका ५ भुवनटारमा करिब ४ हेक्टरमा फैलिएको फार्म हाउसको व्यवस्थापन ल्याण्डमार्कले सम्हालेको करर्पोेरेट अपरेशन निर्देशक सम्राट पाण्डेले जानकारी दिनुभयो । होटल तथा फार्महाउसको व्यवस्थापन सम्हालेसंगै ल्याण्डमार्कले नेपालको पर्यटन क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाएको उहाँले बताउनुभयो । सेवा परिस्कृत गर्दै रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी र देवघाटको फार्म हाउसलाई ल्यान्डमार्क फार्म हाउस बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

भरतपुर हाइटमा रहेको ल्याडमार्क नारायणीमा ७० कोठा छन । यहाँ छ वटा विभिन्न साइजका ब्याकेट तथा व्यवसायिक बैठक र गोष्ठीका लागि कन्फ्रेन्स हल रहेका छन । यस्तै रमाइलो वातावरणमा खानाका लागि रेष्टुरेन्ट,पेय पदार्थको विविधतासहितको बार,कफी हाउस,खुला आकाशमुनि आरामदायी ढंगले समय बिताउनका लागि ओपन टेरेस उपलब्ध रहेको ल्यान्डमार्क होटलका महाप्रबन्धक बोधराज लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार होटलले आगामी दिनमा स्विमिङ पुल समेत थप गर्नेछ । ल्याण्डमार्क नारायणी व्यापारिक र पारिवारिक पाहुनाका लागि उत्कृष्ट सेवा र सुविधा प्रदान गर्न तयार रहेको भन्दै उहाँले यस होटलको सेवा लिनका लागि सबैलाई अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस