लोकरक ब्यान्ड ‘नेपथ्य’ले ल्यायो कर्णालीको गीत

सफल खबर संवाददाता

आइतबार, २८ बैशाख २०८२, १५ : ४९
लोकरक ब्यान्ड ‘नेपथ्य’ले ल्यायो कर्णालीको गीत

काठमाडौं । लोकरक ब्यान्ड ‘नेपथ्य’ले कर्णालीको सुसेली र सुस्केरालाई लामो अन्तरालपछि फेरि श्रोतासमक्ष प्रस्तुत गरेको छ । गीतको सूत्र फेला परेपछि दुई दशकसम्म लगातार त्यस भेगलाई पछ्याउँदै गायक अमृत गुरुङले तयार पारेको सिर्जना अर्थात् ‘कर्नालीका छाइला’ शनिबार राजधानीमा सार्वजनिक गरिएको हो ।

प्रकृतिसँग मिलेर सुदूरजनजीवनले विकास गरेका भाकाहरूलाई आफ्नो आवाज बनाउने ब्यान्डको अभ्यासबाटै जन्मेको यो पछिल्लो गीतमा श्रव्यदृश्य सर्जक भूषण दाहालले तयार पारेको म्युजिक भिडियो छ ।

गीत भर्खर सार्वजनिक भए पनि ‘नेपथ्य’लाई पछ्याउँदै आएका धेरैले यसबारे दुई दशक अगावै जानकारी पाइसकेका थिए । ब्यान्डको गीत खोजी प्रयासमा उभिएको वृत्तचित्र ‘भेँडाको ऊनजस्तो’ मा गायक अमृत र त्यस गीतका सङ्कलक नारायण वाग्लेले यसलाई उतिबेलै गुनगुनाएका थिए । शनिबारको कार्यक्रममा वृत्तचित्रको त्यो दृश्य पनि देखाइएको थियो ।

विशेष गरी सल्यान र आसपासका जिल्लामा प्रचलित लोकधुन ‘टप्पा’ मा उभिएको यस गीतलाई अमृतले त्यसै भेगमा पुगेर तयार पारेका हुन् । पुरानो नेपाली चलचित्र ‘माइतीघर’मा अटाएको लोकप्रिय गीत ‘काला कुर्तैले छ मैने जागिरै खायाँ’ यसै ‘टप्पा’ धुनमा आधारित छ ।

प्रतिक्रिया दिनुहोस